शेखरको अबको बाटो : देउवा सुध्रिए सहकार्य, नभए संघर्ष

२९ मंसिर, काठमाडौं । पहिलो चरणमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ पाएपछि शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । तर उनको दोस्रो कार्यकाल सहज नहुने देखिएको छ ।

दोस्रो चरणको चुनावमा ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालाले सभापति निर्वाचित भएकोमा बधाई दिँदै भनेका छन्, ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुनेछौं ।’

उनी मात्र होइन, पदाधिकारीदेखि केन्द्रीय सदस्यका उम्मेदवार रहेका सबै नेताको एक स्वर छ, ‘भागवण्डा खोज्दैनौं, तर पार्टीलाई हिजो जसरी चलाउन पनि दिँदैनौं ।’

मंगलबार रातको साढे २ बजेतिर सकिएको मतणनाअनुसार देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित भएका थिए । शेखरले १८५५ मत पाएका थिए ।

विहानै डा. शेखरले देउवालाई फोनमार्फत बधाई दिए र आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन दिउँसो प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यक्रम राखे ।

नेताद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीलाई दायाँ र बाँया राखेर कार्यक्रम गरेका डा. शेखरले सम्बोधनको शुरुमै देउवालाई सभापतिमा निर्वाचित भएकोमा बधाई मात्र दिएनन्, कार्यकाल चार वर्ष मात्र हो भनेर स्मरण गराए ।

पार्टीको चुनाव आन्तरिक लोकतन्त्र भएको बताएका उनले आफ्नो पराजयलाई सहज रुपमा लिएको बताए । आफूलाई कसले समर्थन गर्‍यो वा कसले गरेन भनेर कुण्ठा पनि नपालेको भन्दै कोइरालाले महाधिवेशन प्रतिनिधिलाई भने, सबभन्दा राम्रो कुरा तपाईंजस्ता साथीहरु, कांग्रेसलाई माया गर्ने साथीहरु र आम जनताले हाम्रो टिमले लिएको कदमको विजयी सोच्नुभएको छ । त्यसकारण हामी विजयी भएका छौं ।’

‘हाम्रा राजनीतिक एजेण्डाहरु स्थापित भएका छन् । सँगसँगै युवा पुस्ताको लागि कांग्रेसभित्र अवसरै अवसर खोलिदिएका छौं । अब तपाईंहरु गाउँघरमा बस्दा ढुक्कले म कांग्रेस हुँ भनेर बस्न सक्नुहुनेछ भन्ने विश्वास लिएको छु’ उनले अघि भने ।

कांग्रेसको रुपान्तरणका लागि आफू लागिसकेको भन्दै कोइरालाले निरन्तर रुपमा कार्यकर्ताको घरदैलोमा पुग्ने बताए । मेरा टीमका साथीहरु पनि आउने भन्दै उनले भने, ‘आगामी महाधिवेशनमा हामीले सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास लिएको छु ।’

भागवण्डाको राजनीति गर्दैनौं

कार्यक्रममा डा. शेखरसँगै नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी तथा उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिएका नेताहरुले यो विचार समूहले पाएको ४० प्रतिशत मतका आधारमा पार्टीमा भागवण्डाको राजनीति नगर्ने बताएका छन् ।

हिजो जसरी पार्टी चलाए सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका डा. शेखरले भने, ‘भागबण्डाको राजनीतिमा लाग्दैनौं, गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं । हामी हाम्रो काम गर्दै जान्छौं । राम्रो काम गर्दै उहाँहरुलाई आफैं सोच्न बाध्य बनाउँछौ ।’

महामन्त्रीका उम्मेदवारद्वय डा. मिनेन्द्र रिजाल र गगनकुमार थापाले पनि भागवण्डाको राजनीति नगर्ने बताए । कांग्रेसमा रुपान्तरण आवश्यक छ भन्ने सन्देशसहित सभापतिमा देउवा विजयी भएको भन्दै डा. रिजालले भने, ‘हामी व्यक्तिको भाग खोज्दैनौं । आउने दिनमा कांग्रेस सञ्चालन गर्दा विचारमा प्रतिनिधित्व हुनुपर्छ । म सभापतिलाई भन्न चाहन्छु, कांग्रेस परिवर्तनको अवसर खेर नजाओस् ।’

महामन्त्रीका अर्का उम्मेदवार थापाले पार्टीको हितमा काम गर्दा सहयोग गर्ने र चुक्दा संघर्ष गर्ने बताए । त्यसका लागि ४० प्रतिशत मतदाताले हालेको मत सम्झिएर चार वर्ष क्रियाशील रहन सभापतिका उम्मेदवार डा. शेखरलाई आग्रह गरे ।

‘यो ४० प्रतिशतको नाममा हिजो गरेको गल्ती दोहोर्‍याउनु हुन्न । मैले ४० प्रतिशत मत पाएको छु, यो ४० प्रतिशतको भाग चाहिन्छ भनेर भागशान्ति गर्न जाने होइन,’ उनले अघि भने, ‘मैले ४० प्रतिशत मत पाएको छु, त्यो मतको जिम्मेवारीका साथ बोल्दछु पार्टीभित्र यो वा त्यो नाममा एक जना साथीलाई पनि अन्याय गर्न पाइन्नँ । विधिको पालना हुनुपर्छ भन्नुपर्छ ।’

पार्टीमा विधिको पालना हुँदा त्यो ४० प्रतिशत त्यसै आउने भन्दै थापाले भने, ‘यत्रो साथीहरु हुनुहुन्छ, भोलि चुनावमा मौका पाउन, पार्टीमा जिम्मेवारी पाउन कसले बञ्चित गर्न सक्छ ? यसलाई इग्नोर गरेर को अगाडि बढ्न सक्छ ?’

उनले निर्वाचनका क्रममा आफूले दुबै पटक देउवालाई मत नदिएको, तर निर्वाचित भएपछि आफ्नो पनि सभापति भएको भन्दै उनले गुटभन्दा माथि उठ्न आग्रह गरे ।

अघिल्लो कार्यकालमा देउवाले पार्टी कार्यालयमै हाकाहाकी गुटको बैठक गरेको देखेको भन्दै महामन्त्रीका प्रत्यासी थापाले भने, ‘हाम्रो सभापतिले बालुवाटार, बुढानीलकण्ठ वा पार्टी कार्यालयमा म गुटको बैठक राख्दिनँ, गुटको बैठक बस्दिनँ भनेर नयाँ यात्रा शुरु गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?’

आफूहरुले गुटबाट माथि उठ्न र पार्टीको हितमा काम गर्न देउवालाई दबाव दिने उनले बताए ।
उपसभापतिका प्रत्यासीद्वय धनराज गुरुङ र चन्द्र भण्डारी, नेताहरु अर्जुनरसिंह केसी, बलबहादुर केसी र डा. रामशरण महतले पनि पार्टीलाई विधि पद्धतिबाट सञ्चालन गर्ने डा. शेखरको नेतृत्वमा रहेको विचार समूहले काम गर्ने बताएका छन् ।

प्रकाशमानप्रति कटाक्ष

शेखर समूहका नेताहरुले नेतृत्व परिर्वतनको मुद्दा लिएर सभापतिमा प्रतिस्पर्धा गरेका तर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति पनि कटाक्ष गरेका छन् ।

महामन्त्रीका प्रत्यासी डा. रिजालले तातोमा हालेपछि सुन र पित्तल छुट्टिएको टिप्पणी गरे भने थापाले मध्यरातसम्म यो नेतृत्व भयो भने कांग्रेस डुब्छ, प्रजा परिषद हुन्छ भन्ने नेताहरु विहानै किन बदलिए भनेर प्रश्न गरेका छन् ।

उपसभापतिका प्रत्यासी भण्डारीले सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढलेको टिप्पणी गरे । उनले भने, ‘सत्ता र शक्तिका निम्ति कति ठूलो इतिहास बोकेको परिवारको खम्बा ढल्दा रहेछन्, हात हल्लाएको तपाईंहरुले देख्नुभयो ।’

सभापतिको दोस्रो चरणको चुनावमा समर्थन गरेका सिंह र निधिले मतदान स्थलमा पुगेर देउवासँगै हात हल्लाएर फोटो खिचाएका थिए । त्यसतर्फ इंगित गर्दै भण्डारीले भने, ‘१४ औं अधिवेशनले धेरै खम्बाहरु ढलायो, अब १५ औं अधिवेशनमा कसैलाई देख्नुपर्ने छैन । कांग्रेसको जित यही हलमा छ ।’

उपसभापतिका अर्का प्रत्यासी धनराज गुरुङले राजनीतिमा नैतिकता हुन्छ भन्ने बाबु (गणेशमान सिंह) का छोराले परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ भनेको भन्दै नेता सिंहलाई कटाक्ष गरे ।



from समाचार – Online Khabar https://ift.tt/3q1B9Oi

Post a Comment

0 Comments