पोखराका चार विद्यालयमा नि:शुल्क इन्टरनेटसहित २० लाख बराबरको सुविधा

२४ कात्तिक, कास्की। चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो ।

नेपाल-चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो । उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलवार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ ।

कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दूतावासले सहयोग गरेको बताइन् ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौति खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि इन्टरनेटको विकल्प छैन,’ उनले भनिन, ‘त्यही भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौँ।’

गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए ।

सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलवार हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।



from समाचार – Online Khabar https://ift.tt/2YAcmr2

Post a Comment

0 Comments