तिहार कात्तिक महिनामा पर्ने चाड हो । यसबेला मनसुन सकिएर शरद ऋतु शुरू हुने भएकाले मौसम निकै रमाइलो र घमाइलो हुन्छ । साथै प्रत्येक दिन बिहान–बेलुका चिसोको मात्रा बढ्दै जाने क्रम पनि तिहारबाटै शुरु हुन्छ । अर्थात् तिहारदेखि हिउँदे याम शुरु हुन्छ ।
जाडो महिना शुरू हुँदा कतिपय मानिसलाई मौसमी उदासीनता (सिजनल डिप्रेसन) वा निराश हुने समस्या देखिने मनोविद्हरू बताउँछन् । मौसमका कारण हुने यस्तो डिप्रेसन जाडो महिनामा देखियो भने त्यसलाई मनोचिकित्साको भाषामा ‘विन्टर डिप्रेसन’ भनिन्छ ।
विन्टर डिप्रेसन भएको अवस्थामा दिक्क लाग्ने, थकाइ लाग्ने, कुनै कुरामा पनि रमाइलो लिन नसक्ने तथा दिक्दारीपूर्ण सोचाइ बढ्नेजस्ता लक्षण देखिन्छ । यद्यपि विन्टर डिप्रेसन अधिकांशलाई अत्याधिक चिसो मौसम (पुस, माघ वा वर्षामा) देखिने बताउँछिन् मनोविद् करुणा कुँवर ।
उनका अनुसार तिहारकै बेलामा विन्टर डिप्रेसन देखियो भने चाडपर्वको हरियाली र रसरंगले मानिसको मनलाई केही राहत दिन्छ ।
‘विन्टर डिप्रेसन अत्याधिक चिसो मौसममा बढी देखापर्छ,’ कुँवर भन्छिन्, ‘सामान्य अवस्थाको मानिसमा देखिने उदासीनता वा खिन्नतालाई भने तिहारले राहत दिन्छ । उज्यालो मौसम र मनमोहक वातावरणले व्यक्तिलाई शान्ति मिल्छ ।’
तिहारलाई मनको आकाशमा पनि शरद लाग्ने चाडको संज्ञा दिन्छन् संस्कृतिविद् तुलसी दिवस । उनका अनुसार तिहार मूलतः उज्यालोको उत्सव हो । हरेक घरलाई उज्यालो बनाउने, झिलिमिली पार्ने तिहारकै बेला गरिन्छ ।
‘तिहारका पाँच दिनमा पूजापाठसँगै रमाइलोले बढी प्राथमिकता पाउँछ,’ उनी भन्छन्, ‘नाचगान, बाजागाजा, झिलिमिली र भाइटीकाजस्तो अनुष्ठानले गर्दा मानिस प्रफुल्ल रहन्छ । वरिपरिको वातावरणमा आफूलाई समाहित हुँदै मानिसले पीर–व्यथा भुल्न पुग्छ ।’
यस्तै तिहारलाई मृत्युबोध गराउने पर्वको रूपमा पनि लिनुपर्ने दिवस बताउँछन् । यसैकारण यमुना र यमराजको पौराणिक कथालाई आधार मानेर मृत्युलाई पर सार्न यमपञ्चकको पूजा गरिने उनको धारणा छ ।
यता ऋतुहरूमा शरद ऋतुको विशेष महत्व भएको कुरा ‘जीवेम शरदः शतम’ भन्दै सयौं शरदसम्म बाँच्ने चाहना गरिनुले पनि झल्किन्छ । दिवस थप्छन्, ‘तिहारमा गरिने प्रत्येक सांस्कृतिक कर्मको बृहत अर्थ छ । जसले मानिसको मनोविज्ञानमा समेत प्रभाव पारेको हुन्छ ।’
समाजशास्त्री पुष्प राई पनि रसरंगको चाड भएकाले तिहारले व्यक्तिगत तथा सामाजिक सम्बन्ध प्रगाढ बनाउने बताउँछन् । प्रत्येक चाडले मानिसलाई हर्ष र उमंग प्रदान गर्ने उनी बताउँछन् । तिहार हिन्दु तथा नेपालीहरूको दोस्रो ठूलो चाड भएकाले बृहत सामाजिक महत्त्व हुने गर्छ ।
‘चाडपर्वले व्यक्तिगत रूपमा हौसला र उमंग प्रदान गर्ने गर्छ,’ समाजशास्त्री राई भन्छन्, ‘सांकेतिक रूपमा भएपनि खुशी हुन खोज्ने र रमाइलो गर्ने गर्दा व्यक्ति स्वतः खुशी भइहाल्छ । त्यसमाथि सामूहिक रूपमा मनाइने चाड तिहारमा पारिवारिक र सामुदायिक संलग्नता हुन्छ ।’
चाडपर्वले व्यक्तिको सोचाइ र जीवनशैलीलाई प्रभावित गर्नेमा राई जोड दिन्छन् । जसबाट व्यक्तिको मानसिक अवस्था समेत सन्तुलित रहन्छ ।
यस्ता छन् विन्टर डिप्रेसनका लक्षण
विन्टर डिप्रेसनको लक्षण देखा पर्दा आत्मबल कम हुने, पहिले गरिरहेको काम पनि गर्न सक्दिन भनेजस्तो लाग्ने, सानो कुरालाई पनि अनावश्यक रूपमा लिने, चाँडै रून मन लाग्ने, भावुक बन्नेजस्ता लक्षण देखिन सक्छ ।
सामान्यतः डिप्रेसनको पनि तह हुन्छ । कडा डिप्रेसन भएको अवस्थामा व्यक्तिलाई आत्महत्यासम्मको सोचाइ आउन सक्छ । कतिपय व्यक्तिलाई जाडो शुरु भएसँगै डिप्रेसनको लक्षण बढ्दै जान्छ र जाडो कम हुँदै जाँदा लक्षण पनि कम हुँदै जान्छ । यस्तै कोहीलाई लगातार झरी परेर घाम नलाग्दा समेत डिप्रेसन हुने गर्छ । जुनबेला कसैसँग बोल्न मन नलाग्ने, बजार वा घरबाहिर जान मन नलाग्ने हुन्छ ।
एउटा जाडो मौसममा डिप्रेसनको लक्षण देखिएको व्यक्तिमा अर्को मौसममा त्यस्तो लक्षण नदेखिन पनि सक्छ । एकै ठाउँमा बस्न मन लाग्ने, मन दुःखी तथा उदास हुने, झर्को लाग्ने, शरीरमा ऊर्जा नै नभएको महसुस हुने, रून मन लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण लगातार देखिएको खण्डमा सजग हुन आवश्यक छ ।
कारण र रोकथाम
सामान्यतयाः घाम र उज्यालोमा अत्यन्तै कम बस्ने व्यक्तिमा विन्टर डिप्रेसनको समस्या देखिन सक्छ । घाममा बस्दा यो समस्याबाट केही छुटकारा पाउन सकिन्छ । भिटामिन ‘डी’ को कमीले विन्टर डिप्रेसनको सम्भावना हुन्छ भनिएपनि यसको प्रत्यक्ष सम्बन्ध देखिँदैन । यसका लागि घाम वा उज्यालो बढी आवश्यक पर्छ ।
मस्तिष्कसँग सूर्यको किरण वा उज्यालोको प्रत्यक्ष सम्बन्ध हुन्छ । घमाइलो मौसममा व्यक्तिको मन उज्यालो हुन्छ । धुम्म परेको मौसममा व्यक्ति निराश हुन सक्छ । त्यसैले उज्यालो र अँध्यारोले व्यक्तिको मन (मुड)लाई प्रभाव पार्छ । डिप्रेसनमा सेरोटोनिन्, डोपामिनजस्ता मस्तिष्क–रसायनले प्रभाव पार्ने भएपनि घामका किरणले प्रत्यक्ष रूपमा परिवर्तन गर्दैन ।
सूर्यको प्रकाशको अभावमा सेरोटोनिन् नामक खुशी दिने किसिमका रसायनको उत्पादनमा कमी हुन सक्छ । यसो हुँदा व्यक्तिमा डिप्रेसनको सम्भावना हुन्छ । अँध्यारोका कारण ‘मेलाटोनिन’ मस्तिष्क–रसायनको उत्पादनमा वृद्धि हुन्छ । यसकारण जाडो मौसममा व्यक्तिको शरीर शिथिल हुनसक्ने बताइन्छ ।
यस्ता समस्या देखिएका मानसिक उपचार (साइको थेरापी) गर्न सकिने बताउँछन् डा. आशिष दत्त । उनका अनुसार साइको थेरापीमा मानिसको नकारात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्नेबारे सिकाइन्छ । आफैंभित्र खुशी खोजेर वा आफ्नो वरिपरिको वातावरणबाट प्रभावित भएर निराशालाई कम गर्न सकिन्छ ।
यदि चरम निराशा देखिएमा मनोचिकित्सकको सल्लाहबिना आफूखुशी यसको औषधि नलिन उनी सुझाउँछन् । यस्तै विन्टर डिप्रेसनका रोगीलाई कृत्रिम ताप दिएर लाइट थेरापी पनि दिने गरिन्छ । विदेशमा लाइटको प्रयोग गर्दै थेरापी दिइने प्रविधि आइसकेको छ । जसले घामले जस्तै तातो किरण दिन्छ ।
(निर्भीकजंग रायमाझीले गरेको कुराकानीमा आधारित)
from समाचार – Online Khabar https://ift.tt/3q49CgR
0 Comments
if you have any doubts, please let us know.