२७ कात्तिक, दाङ । बन्दुकको नालबाट सधैं गोली मात्र कहाँ निस्कन्छ र ? त्योसँगै विचार निस्कन्छ । र, भावनाहरू जन्मन्छ । दाङ घोराही-१४ झिगौंराका क्षितिज मगरको जीवनमा यस्तै भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वमा उनले बन्दुक मात्र चलाएनन्, कलम पनि सँगसँगै चलाए । १० वर्षको लामो माओवादी जनयुद्ध अवधिभर उनले एक हातमा बन्दुक बोके, अर्को हातमा कलम । सिरानीको एकपट्टि बन्दुक हुन्थ्यो भने अर्को छेउमा डायरी ।
मुलुक बदल्ने सपनाले कलिलै उमेरमा बन्दुक समाउन पुगेका उनले कालान्तरमा आएर बन्दुक बिसाए । तर कलम चलाउन छाडेनन् ।
युद्धका मैदानमा लेखिएका डायरी अहिले उनको दराजमा छन् । स्मृतिपटलमा विगतका यादहरू बिस्तारै धमिलो हुनसक्छन् तर, डायरीमा कोरिएका शब्दहरु उस्तै गाढा छन् जसले उनलाई विगततिर डोर्याइहाल्छ । ती डायरीहरू पल्टाउनु युद्धताका देखेका सपनाहरूलाई पुनः जागृत गराउनु हो । युद्धमा भोगेका घाउहरूलाई फेरि दोहोर्याएर महसुस गर्नु हो । किनभने उनको डायरीमा आँशु र पीडाहरू पोखिएका छन्, आक्रोश र विद्रोहले भरिएका छन् ।
किताब फालेर बन्दुक
रोल्पाको सुनछहरी गाउँपालिका-७ (साविकको जेलबाङ गाविस), २०५२ साल । किशोरावस्थामा थिए क्षितिज, भर्खर १७ वर्ष पुगेका । त्यतिबेला माओवादी जनयुद्ध शुरुवाती चरणमा थियो । उनीहरु गाउँ-गाउँमा संगठन विस्तार गर्दै थिए । जनमानसमा विचारको बीउ उमारेर हुर्काउँदै थिए उनीहरु । क्षितिज भन्छन्, ‘समाजमा असमानता छ । विभेद, उत्पीडन र अन्याय छ । र, यी सबैको अन्त्य जनयुद्धबाट मात्र सम्भव छ भनेर हामीलाई बुझाइन्थ्यो ।’
उनी विद्यार्थी छँदा रुस र चीनका कथा पढेका थिए । युद्धले ल्याएका परिवर्तनका थुप्रै उदाहरण सुनेका थिए । माओवादीले शुरु गर्न लागेको जनयुद्ध देख्दा उनलाई लाग्थ्यो- परिवर्तन त युद्धबाटै सम्भव रहेछ । माओवादीका अगुवाहरु पनि यसै भन्थे ।
माओवादीले उठाएको मुद्दामध्ये उनको कलिलो मस्तिष्कमा प्रभाव पारेको अर्काे कुरा हो, जनवादी शिक्षा । माओवादीहरु भन्थे, ‘बुर्जुवा शिक्षाले मुलुक बन्दैन । जनवादी शिक्षा लागू गर्नुपर्छ ।’ उनलाई पनि लाग्यो- साँच्चै यस्तो शिक्षाको के काम ? त्यही सोचेर उनले बीचमै पढाइ छाडे । किताब फालेर बन्दुक समाए ।
अहिले सम्झँदा उनलाई यही कुराको पश्चाताप लाग्छ । क्षितिज भन्छन्, ‘अहिले फर्केर हेर्छु, त्यो सबै बेकार रहेछ । आखिर शिक्षा भनेको ज्ञान हो । ज्ञान कहिल्यै बुर्जुवा हुँदैन ।’
गाउँमा शोषण र दमन थियो । त्यसमाथि प्रहरीको ज्यादती । अन्याय एउटा बिन्दुमा पुगेपछि विस्फोट हुन्छ नै । असमानता र अन्यायको विरुद्ध भन्दै माओवादीले सशस्त्र विद्रोह शुरु गर्यो । उनको कलिलो मतिष्कमा ‘जनवादी क्रान्ति’को गहिरो प्रभाव पर्यो । देश बदल्नुपर्छ भन्ने क्रान्तिकारी भाव उनमा सवार भयो । ‘उत्पीडन र असमानताले धेरै मानिस जनयुद्धमा सरिक भइसकेका थिए,’ उनी भन्छन्, ‘जसको गहिरो प्रभाव हाम्रो बाल मनोविज्ञानमा पर्यो ।’
त्यसपछि उनले मुक्तिको कसम खाए । कलम र कापी फालेर समाज परिवर्तनका निम्ति बन्दुक बोकेर युद्धमा होमिए । उनी क्षितिज मगरबाट कमरेड ‘रायन’ भए ।
२०५४ सालदेखि उनी प्रत्यक्ष आक्रमणहरूमा सहभागी हुन थाले । माओवादी जनमुक्ति सेना हुँदै सहायक ब्रिगेड कमाण्डर भए । यसबीचमा उनले युद्धका कैयौं मोर्चा सम्हाले । कैयौं फौजी आक्रमणको नेतृत्व गरे । ‘परिवर्तनका निम्ति जीवन बलिदानी गर्नुपर्छ भन्नेमा संकोच थिएन । लाग्थ्यो, परिवर्तनका निम्ति रगत बगाउने हो,’ विगत सम्झँदै उनी भन्छन् ।
जनयुद्ध चर्कंदै थियो । उनीसँगै मुलुक परिवर्तनको सपना बोकेर थुप्रैले कलम र कापी फालेर जनयुद्धमा प्रत्यक्ष सरिक भइसकेका थिए । त्यसअघि उनले युद्धबारे सुनेका मात्र थिए । तर प्रत्यक्ष होमिएपछि भने धेरै कुरा देखे र बुझे । युद्ध उनले सोचे जस्तो सजिलो रहेनछ । त्यो त पूर्ण रक्तपातपूर्ण युद्ध थियो । बम, बारुद र बन्दुकसँग खेल्नुपर्ने । मर्न र मार्न तयार हुनुपर्ने । साह्रै निर्मम हुन्थ्यो युद्ध । कुन बेला कहाँ आक्रमण गर्नुपर्ने हो ? कतिबेला सरकारी फौजको फन्दामा परिने वा सहयोद्धा झंै बेपत्ता पो पारिने हो ? र, कुन बेला बन्दुकको तातो गोलीमा जीवनको अन्तिम सास फेर्नुपर्ने हो, यकिन थिएन ।
जनयुद्ध यस्तै थियो ।
यता युद्धमा उनीसँग हिँडेका कैयौं साथीहरूले सहादत प्राप्त गरिसकेका थिए । कैयौंको अंगभंग भएको थियो भने कैयौं बेपत्ता पारिएका, युद्धका मैदानमा सहयोद्धाहरू ढलेका थिए । यी सबै दृश्य उनले आँखाअघि देखे । युद्धका यी दृश्यले उनको मन एक किसिमले विचलित हुन्थ्यो । तर युद्धमा त यी सबै स्वभाविक थिए । ‘आखिर आफैंले रोजेको बाटो न थियो,’ उनी भन्छन् ।
युद्ध जति-जति उत्कर्षमा पुग्दै थियो, परिस्थिति झन्झन् नै जटिल बन्दै गयो । बन्दुकको नाल र खुकुरीको धारमा टेकेर हिँड्नुपर्ने । युद्धको बाटोमा तगारो बन्न आउनेहरूलाई पन्छाउँदै अघि बढ्नुपर्ने । ‘मरे मुत्यु, बाँचे मुक्ति’ आखिर युद्धको सिद्धान्त पनि त यही थियो ।
बन्दुकसँगै कलम
जब-जब उनी युद्धका भूमिमा पुग्थे वा कुनै युद्धको मोर्चाबाट फर्कन्थे । जीवन र मरणका ती क्षणमा उनका मनमा अनेक भाव आउँथे । सोचका अनेक छालहरू उर्लन्थे । ‘यो युद्ध, यो बन्दुक, यो लडाइँ अनि मर्न र मार्न तम्सिएको यो शरीर ! आखिर यो सबको औचित्य के ?’
युद्धको मैदानमा उनी जीवनको औचित्य प्रष्ट्याउन खोज्थे । खोज्दा-खोज्दै उनले मनमा आँधी बनेर उर्लिरहेका भावनालाई डायरीमा उतार्नु अनिवार्य ठाने । त्यसपछि हरेक घटनाक्रमहरूलाई दैनिक डायरीमा लेख्न शुरु गरे । विधामा उनले कवितालाई रोजे ।
‘आफूले जुन काम गरिन्छ, त्यसको औचित्य प्रष्ट्याउन र त्यस विरुद्धमा आएका कुराहरूको प्रतिवाद गर्न मैले लेख्नुलाई अनिवार्य जस्तै ठानें,’ उनले भने, ‘लक्ष्यसँग सम्बन्धित कविताहरू बढी लेख्थे ।’
कवितामा उनले युद्ध लड्दा देखेको परिर्वतनका सपना मात्र लेखेनन् । छापामारका मनोदशा र सहयोद्धा गुमाउँदाका पीडाहरूलाई कविताबाट पोखे । २०५८ सालमा दाङको पञ्चकुले रेडमा शहादत प्राप्त गरेका आशिषको सम्झनामा उनले कविता लेखेका थिए-
प्रिय मित्र
सुदूर मुक्ति अभियानको
अविराम महायात्रामा
युद्ध कवच भिरेर
नयाँ युद्धको ट्रेञ्चमा
भीषण गोली पर्राभित्र
बमगोला गर्जनभित्र
जीवन फूल फुलाइरहेछौं हामी ।
युद्धमा बन्दुक जस्तै उनका लागि कलम अनिवार्य बन्यो । युद्धमा बन्दकुबाट गोली निस्के जसरी उनको मनबाट भावना र विचारहरू निस्कन्थे । त्यही भावना र विचारलाई उनी डायरीमा पोख्थे, जसरी लडाकूले आफ्नो रगतबाट युद्धभूमिमा मुक्तिका सपना कोरिरहेका हुन्थे ।
युद्धका क्रममा उनी जहाँ-जहाँ पुग्थे भ्याएसम्म सबै कुरा दैनिकी डायरीमा टिपोट गर्थे । कहिले आक्रमणका योजना बनाउँदै त कहिले राज्यपक्षको घेराबन्दीमा परेर सुरक्षित स्थानको खोजीका सबै घटना परिघटनालाई उनी डायरीमा उतार्थे ।
*** ***
दश वर्ष लामो जनयुद्धपछि देशमा युद्धविराम भयो । २०६३ सालमा भएको १२ बुँदे सहमतिपछि उनीजस्तै बन्दुक उठाएका छापामारहरूले बन्दुक बिसाए । त्यसको केही समय क्यान्टोन्मेन्टमा बसे ।
सेना समायोजनमा उनी परेनन् । शैक्षिक योग्यताका कारण उनी रोकिए । युद्धका थुप्रै मोर्चा जितेर फर्किएका उनी त अयोग्य पो ठहरिए । जुन बुर्जुवा शिक्षा काम छैन भनेर उनी युद्धमा होमिएका थिए, पछि उनलाई त्यसैको अभावमा अयोग्य ठहर्याइयो । जुन व्यवस्था र परिवर्तनका निम्ति उनले किताब फालेर बन्दुक उठाएका थिए, अन्ततः आफैंले लडेर ल्याएको व्यवस्था आफैंमाथि भारी बन्यो । शैक्षिक योग्यताले उनी समायोजनमा परेनन् ।
समायोजनमा नपरेपछि उनी पाँच लाख रुपैयाँ बोकेर घर फर्किए । जीवन चलाउन धौ-धौ भयो । गुजारा गर्ने अनेक उपाय खोजे । तर भेटेनन् । अन्ततः बाँच्नका लागि मजदुरी गर्न पुगे । र, त्यसैलाई जीवन जिउने आधार बनाए ।
पुस्तक अवतारमा युद्ध डायरी
युद्धबाट फर्केपछि उनीसँग साथमा थिए, डायरीहरू । भयो के भने युद्धताका समाएको बन्दुक बिसाए पनि उनले कलम चलाउन छाडेनन् ।
उनले छापामार युद्धको शुरुदेखि शान्तिकालको शिविर बसाइसम्म भोगेका ऐतिहासिक क्षणहरू डायरीमा उतारेका थिए । युद्धबाट फर्केपछि उनले त्यही डायरीलाई पुस्तकको रुप दिए । युद्धकालीन समयमा लेखेका रचनालाई ‘सुनछहरीको ऐना’ नामक कथा संग्रह र ‘गण्डक अभियान’ संस्मरण डायरी संग्रहका रुपमा उनले प्रकाशित गरे । त्यसअघि २०६२ सालमा रुकुमका साहित्यकार जितमान पुनसँगै ‘आस्थाका पर्खालहरू’ नामक संयुक्त कविता संग्रह प्रकाशित गरिसकेका थिए ।
‘युद्धबाट फर्केपछि विशेषतः कथा, कविता र संस्मरण विधामा कलम चलाएँ,’ उनी भन्छन्, ‘जनयुद्धका क्रममा भएका बलिदान र संघर्षका कथाहरूलाई नै बढी विषयवस्तु बनाएँ ।’
उनले आफूले जनयुद्धका क्रममा देखे भोगेका कहालीलाग्दा क्षणहरूलाई पुस्तकमा समेटेका छन् । उनका पुस्तकमा जनयुद्धका क्रममा उनले देखे र भोगेका दुःख, पीडा र कठिनाइ, गरिबी भेटिन्छन्, क्रान्तिचेतका साथै मुक्तिको सपना भेटिन्छ । वर्गीय निष्ठा र अटल क्रान्तिकारी प्रतिवद्धता भेटिन्छन् । पार्टीभित्र देखिएका असल-खराब सबै प्रवृत्तिलाई पनि आफ्ना रचनाहरूमा उजागर गरेको उनी बताउँछन् । रचनामा उनले माओवादी फौजी हमलाहरू र तिनमा भएका क्षति, तत्कालीन अवस्थामा राज्य, सेना, प्रहरी र छापामारहरूको मनोबल तथा मनोदशालाई पुस्तकमा समेटेका छन् । केही डायरी भने अझै बाँकी छन् । जसलाई उनी छिट्टै पुस्तकको रूप दिने सोचमा छन् ।
*** ***
उनले बन्दुक र कलम दुवै चलाए । साँच्चै परिवर्तन चाहिं केबाट सम्भव रहेछ ?
उनी एकछिन रोकिए । र, केही पृष्ठभूमि बाँधे । भने, ‘बन्दुकले मात्रै पनि परिवर्तन हुन्छ भन्ने म मान्दिनँ । र, कलम मात्रैले पनि त्यो सम्भव छैन । आजको राज्यसत्ता र सुरक्षा व्यवस्था शक्तिमा उभिएको छ । तर बन्दुकले मात्रै पनि परिवर्तन सम्भव छैन ।’
उनी अगाडि थप्छन्, ‘बन्दुकलाई मार्ग निर्देशन गर्न विचार चाहिन्छ । त्यो कलमले गर्छ ।’
from समाचार – Online Khabar https://ift.tt/30eE8d4
0 Comments
if you have any doubts, please let us know.