ओलीले मञ्चमै तयार पारेका थिए पदाधिकारीको लिष्ट

१३ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनको लागि होटल सेभेन स्टार परिसरमा बन्दसत्र हल तयार गरिएको थियो । तर महाधिवेशन उद्घाटन भएको भोलिपल्टदेखि सौराहको पार्क सफारी होटेलले ‘शक्तिकेन्द्र’को रुप लिएको थियो, किनकी एमालेका अध्यक्ष केपी शर्मा ओली बसेका थिए ।

आइतबार त बन्दसत्र हलमा भन्दा त्यहाँ चहलपहल बढी रह्यो । नेताहरुको ओहोदोहोर चलिरह्यो । अध्यक्ष ओलीसँग सिधा पहुँच हुनेहरुले उनलाई भेट्न पाउनु नयाँ भएन । सिधा पहुँच नपुगेका, तर नेतृत्वमा पुग्ने आकांक्षा पालेका नेताहरु आफ्नो कुरा शीर्ष नेताहरुका स्वकीय सचिवसम्मलाई राखिरहेका हुन्थे ।

नेताहरुले सहमतिमा घोषणा गर्ने केन्द्रीय सदस्यहरुको नाममाथि निकै ‘दहलफसल’ गरे । तर पदाधिकारीबारे चुईंक्क पनि बोल्न सकेनन्, किनभने केन्द्रीय सदस्यहरुको नामावली तयार पार्ने नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ चारै जना पदाधिकारीको आकांक्षी थिए ।

त्यसैले पौडेलले घरीघरी प्रिन्ट गरेको केन्द्रीय सस्यहरुको सूचिमा पदाधिकारीको पद थियो, नाम थिएन । पदाधिकारीको नाम खाली राखिएको केन्द्रीय सदस्यहरुको त्यही लिष्ट बोकेर ओली राति पौने १० बजेतिर महाधिवेशनको बन्दसत्र चलिरहेको हलतिर गए, जहाँ विहान १० बजेदेखि पार्टीका प्रतिनिधिहरु पर्खिरहेका थिए । ओली अध्यक्षमण्डलको बैठकमा सहभागी हुन अर्काे बैठककक्षमा प्रवेश गरे । त्यहाँ ओली र अध्यक्षका अर्का प्रत्यासी भीम रावलबीच उम्मेद्वारी फिर्ता लिने र नलिने भन्ने विषयमा बहस भयो ।

ओलीले अध्यक्ष पदका दर्ता गराएको उम्मेद्वारी फिर्ता गर्न रावललाई पटकपटक आग्रह गरे । एकपटक त उनले उमेद्वारी फिर्ता लिन निर्देशन नै दिन्छु समेत भनेका थिए । तर पार्टीको केन्द्रीय अध्यक्षका लागि ओलीको प्रतिष्पर्धी बनेर उभिएका रावल टसकामस भएनन् । झण्डै दुई घण्टा छलफल गर्दा पनि निकास ननिस्किएपछि अध्यक्षमण्डलको बैठकबाट ओली जुरुक्कै उठे र भने, ‘अब निर्वाचन प्रक्रिया सुरु गरौं, प्रतिष्पर्धामार्फत् चुनाव जितेर नेतृत्वमा आऔं ।’

केन्द्रीय निर्वाचन आयोगले बेलुकी ८ बजेदेखि नै निर्वाचनको कार्यक्रम सुरु गरिसकेको थियो, ओलीले यो घोषणा गरेको खबर पाउनासाथ बन्दसत्रमा पर्खिएर बसेकाहरु उम्मेदवारी दर्ताका लगि दर्ता गर्न दौडिए । अध्यक्षमण्डलको सदस्य समेत रहेका रावलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी फारम लिएर भरे । त्यही बेला ओली बन्दसत्र हलमा पुगे र सहमतिका लागि कमिटी प्रस्ताव गर्छु भन्दै केन्द्रीय सदस्यहरुको नामावली पढ्न थालेपछि मनोनयन दर्ता गर्न चौरमा पुगेका प्रतिनिधिहरु फेरि हुरुरु बन्दशत्र कक्षभित्र छिर्न थाले ।

३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा भइसकेपछि ओलीले मञ्चमै बसेर पदाधिकारीका लागि खाली रहेको ठाउँ भर्न थाले । ‘हामीसित छलफल गर्ने यसो गरौं है भन्ने केहीे थिए,’ ओलीले पदाधिकारीको सूचिमा चढाएका एक नेताले भने, ‘केपी कमरेडले गरेको कुरामा हामीले बिद्रोह गरेर किन अप्ठ्यारो पार्नू भनेर केही असहमति हुँदा पनि प्रतिक्रिया जनाएका छैनौं ।’

उनी अघि भन्छन्, ‘फेरि हामीले नै सहमतिको खाका ल्याउने म्यान्डेट उहाँलार्ई नै दिएका हौं ।’ उनका अनुसार ओलीले मञ्चमै बसेर पदाधिकारीको लिष्ट तयार पार्दा आसपासमा भएका नेताहरुले कसकसका नाम लेख्छन् भनेर चियो गरेका थिए । त्यसो हुँदासम्म बिहानीको झण्डै साढे २ बजिसकेको थियो । अध्यक्षमा ओलीको नाम विष्णु पौडेलले प्रिन्ट गरेको कागजमा पहिलेदेखिकै थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम राखे, उपाध्यक्षमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको नाम लेखिसकेपछि एकछिन अलमलिए, अनि लेखे भीम रावल ।

त्यसपछि उनले रावललाई ‘उपाध्यक्षमा तपाईंको नाम राखें है कमरेड’ भनेका थिए । तर उनले मानेनन् । रावलले अध्यक्षमै उमेद्वारी दिन्छु भनेपछि उनको नाम काटे र सुरेन्द्र पाण्डे थपे ।

‘बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ भनेर तयार पार्नुभएको थियो । भीम रावल मान्दै मान्नुभएन,’ स्रोतले भन्यो, ‘भीम रावल नमानेपछिसुरेन्द्र पाण्डे भनेर घोषणा गर्नुभयो । उहाँ त स्थायी कमिटी सदस्य हो । उपमहासचिव हुनपर्छ, महासचिव हुनपर्छ, अनि उपाध्यक्ष हुन्छ । तीन पोष्ट बढुवा भयो, रावलको नाम काटेकाले पहिले सुरेन्द्रजीको नाम आयो । मन्चमै नाम लेखेकाले अध्यक्ष कमरेडले मेसो पाउनुभएन ।’

उपाध्यक्षमा थापा र पौडेलको नाम लेखिसकेपछि ओलीले फेरि एकछिन नेता सुवास नेम्वाङतिर हेरे र, कुरा गरे । नेम्वाङ उनै हुन्, जसले वरिष्ठ उपाध्यक्षमा दिएको उमेदवारी फिर्ता नलिने अडान राखेका कारण सौराहको एमाले राजनीति घाम झुल्केदेखि डुबुन्जेलसम्म तरंगित थियो । नेम्वाङले आफूले केपी ओलीबाहेक अरुलाई नेता मान्न नसक्ने सन्देश पठाउँदै समझदारीका तीन सुत्र नि बुझाएका थिए । तर ओलीले उपाध्यक्षमा नाम राखौं है भन्दा अस्वीकार गर्न नेम्वाङलाई निकै कठिन भयो, मञ्चमा त्यतिधेरै प्रतिनिधिहरुका अघिल्तिर ओलीले लिष्ट तयार पारिदिएपछि नेम्वाङले प्रतिवाद गर्न सकेनन ।

‘सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास ग¥यो,त्योप्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनियो,’ नेम्वाङले भने,‘मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

उपाध्यक्षहरुको नाम घोषणा गरेपछि ओलीले महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम घोषणा गरे । रिमालको नाम आउँदा धेरैलाई आश्चर्य लागेको नेताहरु बताउँछन् । ‘हामीले उपमहाचिवमा घनश्याम भूसाल नै दोहोरिने गरी उहाँलाई कन्भिन्स गरौँ भनेका थियौं, तर मान्नुभएन, बाटो नै फरक प¥यो,’ पदाधिकारीमा सर्वसम्मत बनाउन प्रयास गरिरहेका एक नेताले भने, ‘उहाँले सल्लाह नै गर्नुहुन्न र यस्तै गर्नुहुन्छ भन्ने पहिलेदेखि लागेको थियो ।’

एकाथरीको आकलन चाँहि शंकर पोखरेल महासचिव भए भने उपमहाचिव विष्णु रिमाल हुन्छन् भन्ने थियो । ‘शंकर पोखरेल महासचिव हुँदा प्राविधिक तयारीका हिसाबले पनि विष्णु रिमाल उपमहाचिव बन्नुहुन्छ भन्ने गाँईंगुँई हाम्रो समूहमा पहिलेदेखि नै थियो,’ पोखरेल निकट एक नेताले भने, ‘सैद्धान्तिक रुपमा पोखरेल बलियो भएपनि त्यसलाई प्राविधिक रुपमा बलियोसँग प्रस्तुत गर्न सक्ने खुबी रिमालको छ ।’

तर अर्काे समूहलाई भने रिमालको नाम आउँछ भन्ने कल्पनासम्म पनि थिएन । ‘भीमजीले मन्चमै कुरा गर्नुभयो, मिलेन । सुवासजीले मञ्चमै कुरा गर्नुभयो उहाँले उपाध्यक्ष नै हुन्छु भन्ने संकेत पाउनुभएको थियो,’ एक नेताले भने, ‘ईश्वर पोखरेल, विष्णु पौडेल र पृथ्वी सुब्बासित कुराकानी नै गर्नुभएन ।’ बरिष्ठ उपाध्यक्ष र महासचिव हुँ भनेर दिनभर दावी गरिरहेका नेताहरुसँग मञ्चमा गएर मात्रै ओलीले तपाईँको पद यो है भनिदिए । ‘बिरोध गर्दा आफ्नै टिम भत्किएको म्यासेज जाने डर, बिरोध नगरौं भने चित्त बुझेको छैन,’ एक पदाधिरी भन्छन्, ‘अध्यक्षज्यूले अप्ठ्यारोमा पार्नुभयो ।’

पार्टीका उपमहासचिवमा निर्बिरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङ चाँहि त्यसरी मञ्चमै गएरमात्रै फाइनल नाम तयार पारिएको भएता पनि अध्यक्ष ओलीले भावानात्मक रुपमा सबैलाई समेट्न खोजेको देखिएको टिप्पणी गर्छन् । भावनात्मक रुपले पार्टीलाई एकताबद्ध बनाउन खोजेकोजस्तो देखिन्छ, सबैलाई समेट्नुपर्छ भन्नेमा उहाँ अलिकति सचेत पनि देखिनुभयो,’ गुरुङले भने ।



from समाचार – Online Khabar https://ift.tt/3I0krqO

Post a Comment

0 Comments