धेरै अगाडिदेखि नेपालमा चल्दै आएको दुइटा चाखलाग्दा बहस हुन्, ‘नेपाल किन बनेन ?’ र, अर्को यसैसँग सम्बन्धित विषय- ‘नयाँ राजनीतिक शक्तिको आवश्यकता ।’ नेपाल झैं अरू देश नबनेका कारणबारे बाह्य अध्ययनकर्ता के भन्छन् त ? पहिला केही सोधहरू हेरौं ।
‘दि इण्ड अफ पोभर्टी’ मा जेफ्रे साच्स् सुझाउँछन्- गरीब देशसँग पैसा हुँदैन । त्यही भएर बन्दैनन् । यिनीहरूको भाग्य धनी देशको कृपामा हुन्छ । अन्तत: धनी देश सुरक्षित हुन पनि गरीब देशलाई बनाउनै पर्दछ ।
‘द बटम् बिलियन्’ का लेखक पाउल कोलियर दाबी गर्छन्- देश बन्न नसक्नु ‘फन्दा’ वा ‘जाल’ वा ‘पासो’ – त्यसमा परेर हो । उनका अनुसार यस्ता ‘जाल’ चार खाले छन्— द्वन्द्वको जाल, प्राकृतिक स्रोतको जाल, झुर छिमेकीले घेरिएको जाल र कुशासनको जाल ।
उनको अनुसार यस्ता फन्दाबाट उम्कन उनको अनुसार समाधानको उपाय भनेका बाह्य सहायता र परे विदेशी सैनिक हस्तक्षेप समेत हुन् ।
ड्यारन् एस मोग्लु र जेम्स रबिन्सनले ‘ह्वाई नेशन्स् फेल’ मा भने अनुसार देश बन्न भूगोल, इतिहास, संस्कृतिमा भन्दा पनि मानवनिर्मित राजनीतिक-आर्थिक ‘संस्था’ (बनेका छन्/छैनन्) मा भर पर्दछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच तुलना गरौं । विलियम ईस्टर्लीले ‘द ह्वाइट म्यान्ज् बर्डन’ मा पश्चिमी सहायताले राम्रो थोरै, खराब धेरै गरेकाले बाह्य ‘योजनाकर्ता’ को भरमा मुलुक बन्दैन; बरु भित्रिया ‘शोधकर्ता’ ले नै मुलुक बनाउन सक्ने दावी गर्छन् र जेफ्रे साच्स्को ‘सल्लाह’ मा भन्दा ‘मोहमद युनुस’ को खोजमा बंगलादेशले प्रगति गर्ने अभिमत राख्छन् ।
ग्राहम् हयान्ककले ‘लर्डज् अफ पोभर्टी’ मा खुलाउँछन्- विदेशी सहायताले देश उँभो लाग्छ भनेर नचिताए हुन्छ बरु सहयोग लिइन्जेल झनझन बेथिति बढ्दै जान्छ । उनको अनुसार विदेशी सहायताको अवधारणा नै गलत छ; यसलाई सुधारेर भित्र्याउन सम्भव नै छैन । अमर्त्य सेन आफ्नो पुस्तक ‘डेभलपमेन्ट याज् फ्रीडम्’ मा भन्छन्- पूर्वी एशियाली मुलुकले स्वास्थ्य सेवा, शिक्षा जस्ता मानव पूँजी निर्माणमा उचित लगानी गरेकाले यसले जनताको जीवनस्तर मात्र उकासेन, आर्थिक वृद्धि हासिल गर्न पनि सार्थकसिद्ध भयो ।
त्यसैले उनको अनुसार कुनै पनि देश बनाउनका निम्ति पहिला ‘पैसा’ बढाउने कार्यक्रम हैन ‘क्षमता’ बढाउने कार्यक्रम महत्वपूर्ण हुन्छ । ९ जना नेपाली विद्वान लेखक, दुई जना भारतीय र ८ जना पश्चिमी लेखकको कृति ‘नेपाल इन ट्रान्जिसन’ मा एसडी मुनिले बाँकी १८ जना लेखकको नेपालको पछिल्लो राजनीतिक घटनाक्रम (माओवादी युद्ध र राजतन्त्रको अन्त्य) लाई नेपाली राजनेताका आफ्नै ल्यागत र निर्णय हो भन्ने दाबीमा असहमति जनाउँदै नेपालमा हरेक कुरा भारतको आफ्नै सुरक्षा र विकासको ‘इन्ट्रेस्ट’ र चाहनामा मात्र हुने गरेको घटनाक्रम सहित पृष्ठ ३१७-३२९ मा खुलाइदिएका छन् ।
अनि नेपाल नबनेका बारे देशभित्रकै अध्ययनकर्ता के भन्छन् त ? ‘फेटलिज्म एण्ड डेभलपमेन्ट’ मा डोरबहादुर बिष्टले मूलत: यस्तो निष्कर्ष निकालेका छन्- समाजमा सम्भ्रान्त ब्राम्हणका मूल्यमान्यता हावी भएकोले देश बन्न सकेको छैन । यिनै ब्राम्हणका भाग्यवादी प्रवृत्तिले गर्दा व्यक्ति र समाज परनिर्भर बनेको छ ।
बाह्य वा अदृश्य तत्वलाई परिवर्तनको लागि जिम्मेवार ठहर्याइने संस्कृति हावी भएको छ र विदेशी सहयोगको अपेक्षा पनि यसैको विषम रूप हो। ‘फरेन एड, पोभर्टी एण्ड स्टाग्नेशन इन नेपाल’ का लेखक नारायण खड्काको दावी छ- नेपालले उत्पादक क्षेत्र विशेषगरी कृषिमा पुग्दो लगानी नगर्नु नै मुख्य कारण हो । वैदेशिक सहायताले यथास्थितिलाई कायम राखिदिएको छ र परिवर्तन हुनलाई रोकिदिएको छ ।
देवेन्द्रराज पाण्डे आफ्नो पुस्तक ‘नेपाल्ज् फेल्ड डेभलपमेन्ट’ मा निर्धक्कै भन्छन्- नेपालको विकास असफल भएकै हो । उनको लामो अनुभव र अध्ययन अनुसार नेपालको विकासमा नेपालीको आफ्नै रूचि नजागेसम्म बाह्य सहयोगबाट सम्भव नै छैन । बाह्य सहयोगले हुन्छ भने भ्रष्टाचार वृद्धि मात्र हुन्छ । ‘इन द नेम अभ डेभलपमेन्ट’ का लेखक नन्दराम श्रेष्ठका अनुसार नेपालीहरू नै पश्चिमी सहायता/विकासे संस्थाहरूद्वारा ‘कोलोनाइज्ड’ भएका छन्- र ‘डिकोलोनाइज्ड’ नभएसम्म नेपाल बन्दैन ।
लामो समयसम्म नेपाल सरकारको प्रशासनभित्र रहेर पञ्चायती व्यवस्था र त्यसपछिका ‘प्रजातान्त्रिक’ भनिने शासनमा काम गरेका अनुभवहरू समेटी तयार पारिएको पुस्तक ‘समाज, संस्कार र शासन’ मा खेमराज नेपालले स्पष्ट भनेका छन्- ‘कुनै पनि मन्त्रिमण्डलका सदस्यहरू समाज र मुलुकको हित र विकासका लागि दूरगामी नीति निर्माणमा लागेको मैले देखिनँ ।’ यो हाम्रो दुःखद यथार्थ र विडम्बना हो ।
हाम्रो समाज यसरी नै दिन प्रतिदिन उँधो गतिमा जाँदो छ । डा. देवेन्द्रराज पाण्डेलाई उद्धरण गर्दै खेमराज नेपाल लेख्छन्- ‘नेपाली नेताहरू संस्कार, आचार, विचार र सामर्थ्य बनाउनभन्दा पनि ‘पारिपट्टिको आली मुनिको आशीर्वाद’ को लागि मरिमेट्दछन्’। मेरो विचारमा बाह्य सहायताको भरमा देश कहिल्यै बन्दैन । ‘च्यारिटी’ होला, ‘प्याच अप’ होला । ‘शान्ति उद्योग, ‘विकास उद्योग’ चल्लान्, मुट्ठीभर धनी होलान्, आम जनताले राहत पाउने उद्योग त खुल्दै खुल्दैनन् !’
एसडी मुनिले भारतको ‘इन्टरेस्ट’ ले मात्र यहाँ ‘केही’ हुन्छ वा हुँदैन भनेको कुरालाई मान्ने हो भने देश बन्ने नबन्ने पनि भारतकै हातमा छ । यो सत्य हो भने भारतसँगको सम्बन्धबारे राज्यको (दल विशेषको मात्र हैन) ‘राष्ट्रिय नीति’ स्पष्ट हुनै पर्छ । भू-परिवेष्टित अवस्थालाई सहज पार्न र भारतको भरलाई कम गर्न विकल्प खोज्नुपर्छ । नत्र भारत सधैं हाम्रो भाग्य विधाता बन्दछ र हामी कहिल्यै निर्णायक बन्न सक्दैनौं । हालका सबै दल र सबैजसो नेता भारतबाटै प्रत्यक्ष अप्रत्यक्ष सञ्चालित भएका हुन् भन्ने दावीमा सत्यता छ भने देश बनाउने कुरो टाढाको कुरो भयो, पहिला देश जोगाउने पो हो कि बरु ? देश जोगाउने नयाँ शक्ति पो जन्मिनुपर्ने हो कि ?
हामीले दलीय व्यवस्था अपनाएकाले हाम्रो देशमा असल दल नै ‘बन्नु’ पर्छ पहिले । दल असल भए असल नेताले स्थान पाउँछन् । असल नेताले देश बनाउँछन् । असल दल ‘देशी’ हुन्छ । यस्ता दल नभएको पक्का हो भने अब बन्नुपर्छ । ढिला गर्नुहुँदैन । हामीसँग कुर्ने समय अब छैन । अब हामीलाई चाहिएको दिगो विकास गर्ने दल हो ।
अमर्त्य सेनले भने झैं प्रजातन्त्र दिगो विकासको अनिवार्य शर्त हो । अधिनायकवादी व्यवस्थामा विकास हुन सक्छ तर दिगो हुँदैन । त्यसैले नयाँ शक्तिले कुनै ठूला सिद्धान्तका कुरा गर्नुपर्दैन; प्रजातन्त्र माने पुग्छ र विकासवादी भए सब थोक हुन्छ । जनताको विश्वास जित्न सरकार जनउत्तरदायी हुनुपर्दछ । अहिले जनता सरकारलाई विश्वास नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
देश तुरुन्तै औद्योगिक हुने छाँट छैन, त्यसैले कृषिमा सुधार ल्याउनै पर्छ, यसमा भूमि व्यवस्था, सिंचाइ, मल्खाद, प्रविधि, बीउ, कृषि अनुसन्धानमा धेरै काम गर्नुपर्ने हुन्छ । सरकारी सेवा अझै ‘बडाहाकिमी’ छ । डोरबहादुर बिष्टले औंल्याएको ‘चाकरी प्रथा’ र ‘आफ्नो मान्छे’ प्रवृत्ति राजनीति र प्रशासनमा हावी छ र यसलाई निषेध गर्नैपर्छ ।
शिक्षा, स्वास्थ्य, सडक र ऊर्जामा राज्यको नियमित र स्थायी प्राथमिकता हुनुपर्छ । कडा मिहिनेत पुरस्कृत हुने संस्कार विकास हुनैपर्छ । दण्ड, जरिवाना जस्ता कानूनमा व्यवस्था भएका कुरा कडाइका साथ लागू गर्नुपर्छ । नेताहरूमा हेजेमोनाइज्ड माइन्डसेट (दासत्व मनोवृत्ति) हटाउनुपर्छ । ब्यूरोक्रेसीको भरपर्ने नेतृत्वले देश बनाउँदैन । स्वयम् ‘इम्फर्म्ड’ हुनुपर्छ । अहिलेका धेरैमा अध्ययन संस्कृति नै छैन । विषयगत दक्षताका ‘थिंक ट्यांक’ हुनुपर्यो राज्यसँग र दलमा पनि !
देश बनाउन खुरापाती राजनीति हैन, विकास राजनीति गर्नुपर्यो । जस्तो दशकौंदेखि भ्रष्टाचार, अपराध, अविकास, कुशासन र गरीबीको पर्याय बनेको भारतको बिहार राज्यको अहिले परिचय नै बदलिएको छ जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता समाजवादीहरूबाट दीक्षित निष्ठावान नेता नितिश कुमारको एकल इमानदार प्रयत्नले गर्दा उनले त्यहाँको मुहार नै बदल्न सफल भए । उनले यो परिवर्तन तुलनात्मक हिसाबले छोटै समयमा ल्याएर देखाए । त्यसकारण देश बनाउन आवश्यक छ त, दृढ इच्छाशक्ति र इमानदारी र गहिरो भिजन ।
अन्त्यमा, अहिलेका दल देश बनाउने साधक हुन् कि देश बनाउन बाधक हुन् ? बाधक नै हुन् भने नयाँ शक्ति जन्माइनुपर्दछ ।
(लेखक टेलिभिजन कार्यक्रम निर्माता एवम् प्रस्तोता हुन् ।)
from समाचार – Online Khabar https://ift.tt/3Dk6HUC
0 Comments
if you have any doubts, please let us know.