९५ वर्षीया लीलादेवीको उबेलाको दशैं

दाङ घोराही-६ की ९५ वर्ष पुगेकी लीलादेवी पौडेलले के मात्र भोगिनन् ? चार युगजस्तो लामो जीवनमा उनले अनेक थोक देखिन् । आफ्नै सन्तानको चार पुस्ता अर्थात् नातिको नाति ‘खनाति’को मुख देखिन् ।

उनकै शब्दमा एउटै जीवनमा उनी दुई फेर बाँचिन् । भन्छिन्, ‘सम्झँदा जुनी फेरे जस्तो लाग्छ ।’ हिजो जहाँ अभाव र दुखैदुःख थियो । खुसी थिएन । आज जहाँ के छैन ? सबथोक छ । ‘आज त स्वर्ग हो । हिजो कम्तीको दुःख थियो ।’ उनी विगत सम्झन्छिन् ।

****

यहीबीच दशैं नजिकिँदो छ । लीलादेवी पौडेलले ९५ औं पटक दशैं मनाउँदैछिन् । सम्भवतः आफ्नो कालखण्डमा लामो जीवन बाँचेर, थुप्रै चाडपर्व मनाउनेमध्येकी उनी एक हुन् । स्मृतिमा रहेका आफूले ८० बढी मनाएको दशैं सम्झना खोजिन् । कति स्मृति ताजै छन्, धेरै भने धमिलिइसकेका । प्युठानको सल्लाबोट गाउँमा जन्मिएकी उनलाई केटाकेटी छँदा दशैंंमा निधारमा टीका थोपेको, गाई पैसा दक्षिणा पाएको उनलाई सम्झना छ । स्मृतिमा पुराना दशैंका याद ताजा भयो ।

****

दशैं जतिजति नजिकिँदै जान्थ्यो । गाउँमा रौनक उति बढ्थ्यो । दशैंको नजिकै गाउँमा सराय नाच नाच्थे । गाउँमा मेला लाग्थ्यो । ‘बाजा गाजा बजाएर सराय नाचेको हेर्न जान्थ्यौं’ उनले भनिन्, ‘गाउँमा मेला लाग्थ्यो । ठाउँ-ठाउँमा चर्खेपिङ राखिन्थ्यो । हामी खेल्थ्यौं ।’ उ दशैमा बेला पिङ खेल्नु परम्परा जस्तै थियो । भन्छिन्, ‘पिङ खेल्दा पो दशैं आए जस्तो हुन्थ्यो । अहिले त पिङ देखिनै छोडे ।’

घर फर्काउने पर्व

वर्षौं छुटि्टएका आफन्तहरु एकै ठाउँमा जमघट हुन्थे । घर चलाउन, परिवार पाल्न भनेर काम गर्न भारत पुगेकाहरु दशैं सम्झिँएर घर फर्कन्थेँ । फर्कन नपाएकाहरू चिठ्ठीपत्रबाट खबर पठाउँथे ।

उस बेला फोन सम्पर्क नहुने । चिठ्ठीपत्र आउन समय लाग्ने । परदेश पुगेकाहरू परिवारदेखि वर्षौं बेखबर रहन्थे । दशैंमा जब तीनै परदेशी घर फर्कन्थे, माहोल भावविभोर हुन्थ्यो । तर त्योभन्दा धेरै उत्सवमय भइदिन्थ्यो । वर्षभरि परिवार र आफन्तसँग छुटि्टएकाहरूलाई जमघट गराउने, दुःखसुख साट्ने पर्व थियो, दशैं । ‘घर छाडेर कमाउन गएकाहरूलाई दशैंले घर फर्काउ’थ्यो’ उनले भनिन्, ‘वर्षदिनमा आफन्तसँग छुटि्टएकाहरू दशैं सम्झेर आफैँ मूल घरमा टीका थाप्न आइपुग्थे ।’

****

हिजो आफूले गाईपैसा दक्षिणा थापेकी उनले अहिले दुई सय रुपैयाँसम्म नातिपनातिलाई दक्षिणा दिन्छिन् । भन्छिन्, ‘अहिले पो दशैं महँगो भयो ।’

ऊबेला बजार थिएन । नुनतेल र कपडा किनमेल गर्न दाङको कोइलावास नाका पुग्नुपर्थ्यो कि त बुटवल । दशैं किनमेल गर्न यी दुई पश्चिम नेपालका बजार थिए । ‘पछिसम्म पनि हामीले बजार देख्न पाएनौं । दशैंमा नुनतेल र कपडा लिन बुबाआमा हिँडेरै कोइलावास नाकाको बजार पुग्नुहुन्थ्यो ।’ उनले भनिन् ।

त्यसमाथि अहिले जस्ता न बाटो घाटो थिए न गाडी मोटर । हप्तौं हिडेर बजार नुन तेल र लुगाफाटो किनेर र्फकन्थे । ‘बजार त धेरैपछि देख्न पाए’ उनले भनिन् ‘बजार भन्नु कस्तो हुन्छ भन्ने सपना जस्तै थियो ।’

कपडा लगाउन त्यही दशैं कुर्नुपर्ने । ‘नयाँ लुगा लगाउन दशैं कुर्थ्यौं, कपडा पाइने भयौ भनेर खुसी हुन्थ्यौं । दशैंमा किनेको कपडा वर्षभरि चल्थ्यो । कहिले त त्यही कपडाले दुईचार वर्ष धान्थ्यो । एउटै कपडाले धेरै वर्ष बिते ।’ अहिले सम्झँदा अचम्म लाग्छ उनलाई ।

बेसी चढ्दै र र्झदै

मान्यजनबाट टीका लगाउने क्रम दशैंको पाँचौं दिनसम्म पनि नपुग्ने । ‘मोटर बाटो थिएन । बेसी झर्दै र चढ्दै आफन्त कहाँ टीका थाप्न पुग्थ्यौँ’ उनले भनिन् ‘दिनभर हिँड्दा पनि नपुगिने ।’

टीका लगाएर पाएको दक्षिणा आज सम्झन्छिन्, उनी । ऊबेला गाईपैसा खुब चल्थ्यो । ‘टीका लगाएर दक्षिणा गाईपैसा, कहिले ५० पैसासम्म पाइन्थ्यो’ उनले भनिन्, ‘कागजका पैसा नहुने, ढ्याक पैसा हुने । धेरै त तामाका ढ्याक हुन्थे । नोटका पैसा कस्तो हुन्थ्यो देख्न नपाइने ।’

अहिले समय फेरिएको छ । ती सबै ढाक्क पैसा हराएर गए । कागज पैसा जातकतै छन् तर ढाक्क पैसा देखिन छाडे ।

फेरि पैसा भएरमात्र पनि नहुने । पैसाले के गर्नुझैं हुन्थ्यो । ‘ऊबेला बजार हुँदैन’थे । टीका दक्षिणाबाट पाएको पैसा कहाँ गएर सक्नु । के खानु, के लाउनु हुन्थ्यो । पैसा भएर पो के गर्ने, पहाडमा पसल थिएनन् । अहिले जस्तो मिठाई नपाइने ।’ उनले सम्झना गरिन् ।

हिजो आफूले गाईपैसा दक्षिणा थापेकी उनले अहिले दुई सय रुपैयाँसम्म नातिपनातिलाई दक्षिणा दिन्छिन् । भन्छिन्, ‘अहिले पो दशैं महँगो भयो ।’

अहिले समय बद्लियो, रीतिथिति पनि पनि बद्लिँदै गएको छ । अहिले उनलाई दशैं पनि उति रमाइलो लाग्न छोड्यो । ‘सानो छँदा रमाइलो लाग्थ्यो । अब त जिउ रोगी भयो ।’



from समाचार – Online Khabar https://ift.tt/3mCkC1B

Post a Comment

0 Comments