माओवादी नेता वर्षमान पुनको जण्डिसको मात्रा घट्यो, बान्ता रोकिएन

१७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ ।

पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् ।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् । ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ ।’

यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन् । खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ ।

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।



from समाचार – Online Khabar https://ift.tt/2YkQgIT

Post a Comment

0 Comments