साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा

१९ असोज, काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पनि पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।

यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक/एक गोल गरे । श्रीलङ्का लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाए । तर, खेलको ५७औँ मिनेटमा श्रीलङ्काका  मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गर्दै खेललाई २-१ को अवस्थामा पुर्‍याए । आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल गरेपछि नेपालले पुन: अग्रता बढायो ।

खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याएका थिए ।

लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।



from समाचार – Online Khabar https://ift.tt/3D8TOg4

Post a Comment

0 Comments