२९ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दशैंको अवसरमा शुभकामना सन्देश दिँदै स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता जनाएका छन् । उनले शुभकामना सन्देशमार्फत विधिको शासनसम्बन्धी अवधारणाप्रति आफ्नो निष्ठापूर्वकको प्रतिबद्धता रहेको बताएका हुन् ।
‘चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्दछ’ प्रधानन्यायाधीश जबराले शुभकामना सन्देशमा भनेका छन्, ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात् गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्दछ ।’
उनले स्वतन्त्र न्यायपालिकाको मर्म र भावनालाई कहि कतैबाट आँच आउन नदिन आफू सचेत, गम्भीर र संवेदनशिल रहेको स्पष्ट पारेका छन् । शुभकामना सन्देशमा न्यायालय र आफ्नो भूमिकाप्रति उठेको प्रश्नमाथि अप्रत्यक्ष संकेत गर्दै उनले त्यस्तो आग्रह नगर्न अपील गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘अनावश्यक रूपमा हुने आशङ्का वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामनासमेत गर्दछु ।’
उनले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै चाडपर्व मनाउदा सावधानी र सतर्कता अपनाउन आग्रह गरेका छन् ।
from समाचार – Online Khabar https://ift.tt/2YQ9J3U
0 Comments
if you have any doubts, please let us know.