सोलुखुम्बुको पत्तालेबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु

२६ असोज, काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ ।

एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण शुरु भएको हो । यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा सेवा विस्तार भएको रेडियो नेपालले जनाएको छ ।

जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो नेपाल प्रस्टसँग सुन्न सकिने छ ।

१५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र देशका शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य छ । सोही लक्ष्यअनुरुप यो रिले प्रसारण विस्तार गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिए ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको छ । तीनवटा प्रसारण केन्द्रसहित हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकका विभिन्न २५ स्थानमा एफ.एम. रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देशभरि प्रसारण सेवा विस्तार गरिसकेको छ ।

२४ सै घण्टा प्रसारण हुने रेडियो नेपालले २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ । नेपाल सरकारको आ.व. ०७६/७७ को आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुाच ८७ प्रतिशत जनतासम्म पुगेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3oXhq3p

Post a Comment

0 Comments