श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् भनेका रहेछन् । त्यही भएर उनले श्रपेच निकाल्ने प्रयास गरेका थिए ।’ प्रहरीका अनुसार डिप्रेसनमा रहेका उनले त्यो कुरालाई गम्भीरतापूर्वक लिए र श्रीपेच लगाउन भन्दै पक्राउ पर्नुअघि तीन पटकसम्म संग्रहालय प्रवेश गरेका थिए ।

‘खासमा ती व्यक्तिले पनि जिस्किँदै भनेका रहेछन् तर उनले गम्भीरतापूर्वक लिएछन्’ प्रहरी भन्छ । नारायणहिटी दरबार संग्रहालयका एक अधिकारी पनि घर्तीले घटनालगत्तै आफूलाई राजा बन्न मन लागेको बयान दिएका थिए ।

यो पनि पढ्नुहोस खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो

उनका अनुसार घर्तीले पहिलो पटक आउँदै श्रीपेच राखिएको सिसा फुटाउन नसकिने थाहा पाइसकेका थिए । ‘श्रीपेच राखेको ठाउँमा साइरन पनि छ, त्यो थाहा पाएका उनीले अर्को दुई पटकको प्रयास पनि आँट गर्न सकेनछन्’ उनले सुनाए, ‘चौथो पटक श्रीपेच नजिकै राखिएको खुकुरी निकाल्न खोज्दै गर्दा उनी पक्राउ परे ।’

उनका अनुसार खुकुरी राखिएको सिसा उनले मुड्कीले हानेर फुटाए तर निकाल्न सकेनन् । ‘खुकुरी निकालेको भए सुरक्षाकर्मी पनि भाग्ने स्थिति आउन सक्थ्यो अथवा अप्रिय घटना हुनसक्थ्यो’ उनले सुनाए, ‘उनले खुकुरी दापबाट निकाल्न नसक्दा तीन जना सैनिक गएर घेरा हालेर समाते ।’

सैनिकले समात्दा उनको हातबाट रगत बगिरहेको थियो । त्यसपछि एक जवानले उनको हातमा ब्यान्डेज पनि लगाइदिएको उनी बताउँछन् । त्यसपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको जिम्मा लगाइएको उनले बताए ।

यो पनि पढ्नुहोस यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

दरबारमार्गका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर पौडेलका अनुसार घर्तीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ‘उनको मानसिक अवस्था ठिक नभएकाले अरु कसुर पुष्टि गर्न गाह्रो हुने हुँदा अभद्र व्यवहारको कसुरमा म्याद थप गरेका हौं’ पौडेलले अनलाइनखबरसँग भने, ‘हाल अनुसन्धानका लागि ५ दिन म्याद लिएका छौं ।’

 



from समाचार – Online Khabar https://ift.tt/3oowPtq

Post a Comment

0 Comments