प्रकाशमानको प्रश्न : गणेशमानको छोरा हुँदैमा म अयोग्य हुने ?

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार पार्टीको काठमाडौं महानगरपालिका समितिको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई सक्षम बनाउन आफू ‘फस्र्ट म्यान’ बन्न अघि बढेको बताए ।

‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?’ उनले प्रश्न गरे, ‘अरुको छोराहरुले त अवसर पाएका छन् त ।’ उनले उपत्यकाबासीले बाहिरबाट आएका नेतालाई मात्र साथ दिएको दुखेसो गरे । उपत्यकाका कांग्रेस कार्यकर्ताले आफ्नो नेतालाई सधैं सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे ।

‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने र बाहिरबाट आएको नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने ?’ उनले प्रश्न गरे ।

नेता सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह गरे । वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाइ छ । ‘१३ औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील (सदस्यता विवाद) मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन’ उनले भने, ‘अनि किन गुणगान गाउने ?’

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताए । २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवा असफल भएको भन्दै राजीनामा मागेका उनले बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको नेता सिंहको आरोप थियो ।

सभापति देउवाले कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको पनि उनले बताए । ‘देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने ?’ नेता सिंहले प्रश्न गरे ।

सोही कार्यक्रममा बोल्दै नेता गगन थापाले नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताए । कांग्रेसको अहिलेको नेतृत्वले जनतामा आशा र भरोसा दिलाउन नसकेको भन्दै उनले भने, ‘आज जसरी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन ।’

नेता थापाले तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्ने पनि बताए । ‘हामीलाई चाहे खुलामञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ’ उनले भने ।

नेता थापाले आउँदो निर्वाचनमा केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने पनि बताए । सबै कम्युनिष्ट र मधेशवादी दल मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे । ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६÷७ महिना बाँकी रहन्छ’ उनले भने ।



from समाचार – Online Khabar https://ift.tt/3uxCBtG

Post a Comment

0 Comments