गोरखामा कांग्रेसका ५० महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै

१६ असोज, गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु भएको छ । अधिवेशनले क्षेत्रीय सभापतिसहितको कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा सभापति र केही पदाधिकारी सर्वसम्मत चयन भइसकेका छन् । बाँकी पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि शनिबार विहानदेखि मतदान शुरु भएको छ ।

जिल्ला निर्वाचन अधिकृत देव महतका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतदान कांग्रेस पार्टी कार्यालय तिनधारे र २ को निर्माण व्यवसायी संघको सभाहलमा भइरहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति, सचिव र सहसचिवसहित अधिकांश सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । सभापतिमा नारायण लामिछाने, सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ, सहसचिवमा बिमल रम्तेल र पुष्कर गुरुङ चयन भएका छन् । बाँकी सदस्यका लागि मतदान भइरहेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को सभापति र सचिव सर्वसम्मत चयन भएका छन् । सभापतिमा गोविन्द गुरुङ, सचिवमा रुपबहादुर गुरुङ (दुर्गा) र सरोज देवकोटा चयन भएको निर्वाचन समितिले जनाएको छ । सहसचिव र सदस्यहरुका लागगि मतदान भइरहेको छ ।

महाधिवेशन प्रतिनिधिका आकांक्षी भने धेरै छन् । ५० महाधिवेशन प्रतिनिधिका लागि ११९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महतले बताए । २५ जना प्रतिनिधि छनोट हुने क्षेत्र नम्बर १ मा ५८ जनाले उमेदवारी दिएका छन् ।

खुल्ला पुरुषतर्फ दश जनाका लागि २२ जनाको उमेदवारी परेको छ । त्यस्तै खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खास आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, एक जना महिलाका लागि चार जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

आदिवासी जनजातिमा तीन जनाका लागि ५ जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाका लागि चार जना र अल्पसंख्यक÷मुस्लिम÷अपाङ्गमध्ये एक जनाका लागि दुई जनाको उमदेवारी परेको छ ।

यता निर्वाचन क्षेत्र नम्बर २ मा २५ जना प्रतिनिधिका लागि ६१ जनाको उम्मेदवारी परेको छ । खुल्ला पुरुषतर्फ दश जनाका लागी २७ जना, खुल्ला महिलातर्फ चार जनाका लागि ११ जना, खस आर्य पुरुष तर्फ दुई जनाका लागि ५ जना र महिला एक जनाका लागि २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै आदिवासी जनजाति तीन जनाका लागि ८ जना, महिला दुई जनाका लागि ३ जना र दलित एक जनाका लागि दुई जनाको उमेदवारी परेको छ । प्रतिनिधि छनोटका लागि अहिले मतदान जारी छ । अल्पसंख्यक/मुस्लिम/अपाङ्गमध्ये एक जनाका लागि एक जनाका लागि अव्दुल सतार मियाँ सर्वसम्मत चयन भएकाे निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य छनोटका लागि आइतवारबाट निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

जिल्ला अधिवेशन भने यही असोज १८ गते हुदैछ । १८ गते मनोनयन लगायतका अन्य काम सम्पन्न गर्ने र १९ गते बिहानबाट मतदान शुरु गरिने जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/2ZFcsh5

Post a Comment

0 Comments