च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

काठमाडौं । लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे ।

घरेलु मैदान पार्क डे प्रिन्समा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा मेस्सीले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

स्पानिस क्लब बार्सिलोनामा दुई दशक बिताएर यसै सिजन फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले कुनै पनि प्रतियोगितामा पीएसजीका लागि गरेको यो पहिलो गोलसमेत हो ।

जितपछि पीएसजी दुई खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट तीन अंक रहेको सिटी तेस्रो स्थानमा झरेको छ ।

यसै समूहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुगले जर्मन क्लब आरबी लाइपजिगलाई २-१ ले हराएको छ । जितपछि क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लाइपजिग अंकविहीन छ ।



from समाचार – Online Khabar https://ift.tt/3kQLVpj

Post a Comment

0 Comments