संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त : उपराष्ट्रपति

३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको बताए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिदै उनले संविधान पालनमा केहीं चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “म यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।”

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन भएको स्पष्ट पार्दै उपराष्ट्रपतिले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त सहिदप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सङ्घर्षका क्रममा घाइते अपाङ्ग भएका योद्धाप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले भनेका छन्, “हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत वलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको छ । यो ऐतिहासक दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु । ”

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने सङ्कल्प गरेको समेत उपराष्ट्रपतिले स्मरण गरेका छन् ।

उनले विगतका राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प रहेको बताए ।



from समाचार – Online Khabar https://ift.tt/3tRBgxu

Post a Comment

0 Comments