५ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।
तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।
कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।
काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आˆनो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3Cxpc7C
0 Comments
if you have any doubts, please let us know.