के लेख्दैछन् साहित्यकार ?

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि साहित्यिक गतिविधि ठप्पप्रायः छ । यो बीचमा साहित्यकारहरू घरभित्रै बस्न बाध्य छन् । बजार ठप्प हुँदा होलटाइमर (पूर्णकालीन) लेखकहरू तयार भइसकेका पुस्तकसमेत ‘होल्ड’ गरेर बसेका छन् ।

२०७८ को दशैं नजिकिँदै गर्दा बजारमा अत्यन्त न्यून संख्यामा मात्रै नयाँ पुस्तक प्रकाशित भएका छन् । साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीहरू रोकिएका छन् ।

यद्यपि घरमै बस्नुपरे पनि लेखकहरूले सिर्जनामै व्यस्त भेटिए । चर्चित आख्यानकार बुद्धिसागरले केही महीनाअघि आफ्नो तेस्रो उपन्यास पूरा भएको जानकारी सामाजिक सञ्जालमार्फत दिए ।

बुद्धिसागरका अनुसार उक्त उपन्यासको अन्तिम चरणको काम बाँकी भए पनि धेरैजसो अंश पछिल्ला दुई वर्षमा लेखिएको हो । लकडाउनको अधिकतम समय उनले उपन्यास र सिनेमा लेखनमा उपयोग गरे ।

अनलाइनखबरसँग कुरा गर्दै बुद्धिसागरले भने, ‘यो दुई वर्ष घरभित्रै बसेको बराबर भयो । एउटा उपन्यास र एउटा सिनेमाको स्क्रिप्ट लेखन पूरा गर्न सकेँ ।’

नयाँ उपन्यास र सिनेमा लेखन सकिए पनि बजारमा सार्वजनिक हुने निर्णय भइनसकेको बताउँदै उनी भन्छन्, ‘प्रत्येक दिन लेखनको लागि समय छुट्याएर केही न केही त लेखेकै छु । तर त्यसलाई बाहिर ल्याउनैपर्छ भन्ने पक्षमा म छैन ।’

प्रायः काठमाडौंका क्याफे र काठमाडौं बाहिरका मनोरम स्थानमा घुमफिर गर्न रुचाउने बुद्धिसागरले घरभित्रै रहेर नयाँ सिर्जना गरे ।

अर्का उपन्यासकार अमर न्यौपाने पनि सिर्जनात्मक लेखनमा नै व्यस्त छन् । उनी फुटकर कथा र नयाँ उपन्यासको सुरु गरिरहेका छन् । ‘घरमै बस्नुपरे पनि सिर्जनात्मक लेखनमा नै व्यस्त छु’ न्यौपानेले भने, ‘कुन विधाको कुन पुस्तक सुरुमा आउँछ भन्नेचाहिँ फिक्स भइसकेको छैन ।’

पत्रकार एवं लेखक विजयकुमार पाण्डेले यही भदौमा सामाजिक सञ्जालमार्फत् आफ्नो तेस्रो पुस्तक यही वर्षको हिउँदमा सार्वजनिक हुने जानकारी दिए । पाण्डेले लेखेका छन् –

‘खुसी’को ठीक सात वर्षपछि र ‘सम्बन्धहरू’को एक वर्षपछि, आज प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी निरज भारीसँग आफ्नो तेस्रो किताब प्रकाशनका लागि समझदारी गरियो ।

बुद्धिसागर, नीलम कार्की निहारिका, सुबिन भट्टराई, प्रगति राईदेखि सुरेश बडाल, विवेक ओझासम्म उपन्यास लेखनमा केन्द्रित छन्

यस्तै कवि विप्लव प्रतीक एक अंग्रेजी नाटकको नेपाली अनुवाद सकाएर अहिले फुटकर कविता र गीत लेखनमा व्यस्त छन् । दोस्रो लकडाउनमा उनले आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली अनुवाद पुरा गरेका हुन् ।

‘अनुवादबाहेक आफ्नै एउटा कवितासंग्रह पनि पुरा गरेको छु’ विप्लव भन्छन्, ‘गीत सुन्ने र नयाँ गीत लेख्ने कामले भने यो वर्ष तीव्रता पायो । केही गीत रेकर्ड भए भने केही रेकर्ड हुन बाँकी छ ।’

कवि नवराज लम्सालले पनि यही बेला नयाँ महाकाव्य पुरा गरे । उनको ‘अग्नि’ महाकाव्य यही साता बजारमा गएको छ । लम्साल भन्छन्, ‘बिस वर्षदेखि यो महाकाव्यको सिर्जना भइरहेको थियो । अन्तिम चरणको काम र सम्पादन महामारीको समयमै पूरा गरेँ ।’

आख्यानकार नयनराज पाण्डेको कथासंग्रह ‘जियरा’ गत चैतमा प्रकाशित भयो । पाण्डेका अनुसार महामारी सुरु भएको केही महिनासम्म कोरोना संक्रमणको त्राशले गर्दा उनले केही पनि काम गर्न सकेनन् । तर त्यसपछि भने पाण्डे कथा लेखनमै केन्द्रित भए ।

‘वर्ष दिनमा छ-सात थान नयाँ कथा लेखिएछ’ उनी भन्छन्, ‘तिनै नयाँ कथा र पत्रिकामा प्रकाशित भइसकेका कथालाई पुनर्लेखन गरेर जियरा तयार पारेँ ।’

प्रायः घरमै बसिरहने पाण्डे सिनेमा हेर्ने र साहित्य पढ्ने गरेर समय व्यतित गर्छन् । यही वर्ष पुस्तक सार्वजनिक भएको हुनाले उनले नयाँ रचना प्रकाशित नगर्ने योजना बनाएका छन् ।

कवि विमल निभाले यस वर्ष नयाँ कवितासंग्रह तयार पारे । विगत दुई वर्षयता लेखेका कविताहरू समेटेर उनले ‘डेकेन्द्र राजवंशीको आत्महत्या’ कवितासंग्रह तयार पारेका छन् ।

अधिकांश लेखकको रोजाइमा उपन्यास

महामारीको अवधिमा अधिकांश लेखकहरू उपन्यास लेखनमा लागिपरेका देखिन्छन् । बुद्धिसागर, नीलम कार्की निहारिका, सुबिन भट्टराई, प्रगति राईदेखि सुरेश बडाल, विवेक ओझासम्म उपन्यास लेखनमा केन्द्रित छन् ।

चर्चित उपन्यासकार सुबिन भट्टराई पछिल्लो दुई वर्षदेखि नयाँ उपन्यासमा नै केन्द्रित छन् । २०७५ मा ‘प्रिय सुफी’ उपन्यास प्रकाशित गरेका सुबिन भन्छन्, ‘लकडाउन नभएको भए अघिल्लो वर्ष नै पुस्तक प्रकाशन हुन्थ्यो । लकडाउनले गर्दा एउटै उपन्यास पुनर्लेखनमा व्यस्त भएँ ।’

अमेरिकामा रहेकी उपन्यासकार नीलम कार्की निहारिकाले यही असारमा ‘द्रौपदी अवशेष’ नामक उपन्यास प्रकाशित गरेकी थिइन् । उनी अहिले नयाँ उपन्यासमै केन्द्रित छिन् ।

यस्ता चार दशकदेखि कविता र गीत लेखनमा सकि्रय कवि श्रवण मुकारुङले यसपटक उपन्यासको तयारी गरिरहेको कुरा खुलाए ।

‘कवि भएको हुनाले कविता र गीत नै बढी लेखिन्छ’ मुकारुङ भन्छन्, ‘यसपटक जीवनको पहिलो उपन्यास लेख्ने तरखर गरेको छु । अरु काम छाडेर त्यसमै केन्द्रित हुन थालेको छु ।’

युवा लेखक सुरेश बडाल पनि उपन्यासमै केन्द्रित छन् । अघिल्लो वर्ष ‘रहर’ कथासंग्रहबाट चर्चामा आएका बडालले दुई वर्षको बीचमा दुई वटा उपन्यास पूरा गरेका छन् ।

‘एउटा उपन्यास प्रेस जाने अन्तिम चरण छ भने अर्कोको लेखन सकाएँ’ बडाल भन्छन्, ‘पाठकले कथा मन पराएपछि प्राप्त प्रेरणाले दुई वटा उपन्यासको रचना सम्भव भयो ।’

बडालले महामारीकै समय उपयोग गरे पाउलो कोहेलोको ‘हिप्पी’लाई नेपालीमा अनुवाद पनि गरिसकेका छन् ।

चर्चित अनुहारदेखि लेखनमा संघर्ष गरिरहेका लेखकहरूले सामाजिक सञ्जालबाटै नयाँ उपन्यास लेखिरहेको खुलाएका छन् ।

केही लेखकले लेख्दै गरेको कथाको टुक्रा सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

भर्चुअल कार्यक्रमको चटारो

२०७६ चैत्रमा पहिलो चरणको लकडाउन लागू भएदेखि नै भर्चुअल साहित्यिक कार्यक्रम सुरु भए । ‘किताब जात्रा’ देखि ‘नेपाल लिटरेचर फेस्टिभल’ तथा ‘दाङ मिनी लिटरेचर फेस्टिभल’जस्ता कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भए ।

कतिपय पुस्तकको विमोचन तथा अन्तरक्रिया कार्यक्रम नै अनलाइनमार्फत भयो । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) ले पनि आफ्ना कार्यक्रम भर्चुअल रुपमा नै गर्‍यो ।

अधिकांश लेखकहरूले आफ्ना रचना अनलाइन मिडियामार्फत प्रकाशित गरे । यस्तै कविता र गीतहरू लेखकले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेको पाइयो । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सव तथा प्रज्ञा बालकविता महोत्सव पनि भर्चुअल रुपमा नै सम्पन्न गरिए ।

पहिलो लकडाउनमा कवि श्रवण मुकारुङले आफूलाई मनपर्ने १५० जना कविको कविता पढेर भिडियो फेसबुकमा राखे । तिनै कवितालाई किताबको रुप दिएर कवितासंग्रह सार्वजनिक गर्ने तयारी अहिले मुकारूङ लागेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/2ZeF6FA

Post a Comment

0 Comments