आरनको आँखाबाट देश हेर्ने कवि

दश वर्षमा तेस्रो महाकाव्य ‘अग्नि’ प्रकाशित गर्दै नवराज लम्साल काव्यको अग्नि-परीक्षामा पुनः होमिएका छन् । यसबीच ‘नेपाली लोकगीतमा रसविधान’ विषयमा विद्यावारिधि गर्दै (डा.) नवराज लम्साल भइसकेका छन् । एउटा बालगीतसंग्रह र कविताकृति पनि यही दशकमा प्रकाशित गरे उनले ।

सँगै बिहान दश बजे हाजिर हुनुपर्ने रेडियो नेपालको जागिर गर्न भ्याएकै छन् । पहिला बिबिसी नेपाली सेवामा पनि काम गर्थे । अहिले भने रेडियो र साहित्य नै उनको दैनिकी बनेको छ ।

सोझो हिसाब लगाउँदा पनि लम्सालसँग लम्बेतान् कुरा गर्ने फुर्सद छैन । सभा-समारोहमा निकै कम देखिन्छन् उनी । यही दौडधूपबीच उनको काव्यिक ग्राफ भने निरन्तर बढिरहेको छ ।

भर्खरै प्रकाशित अग्निमा छुवाछुतलाई मूल-मुद्दा बनाएका छन् उनले । जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई यो महाकाव्यले समेटेको छ । छ भागमा विभाजित महाकाव्यमा ४१ सर्ग छन् ।

रोचक त के भने, यसअघि गद्य र पद्य (छन्द) दुवैको समान प्रयोग गरी महाकाव्य लेखेका उनले अग्निमा गद्यकै मात्र प्रयोग गरेका छन् । माध्यमिक तहका विद्यार्थीवर्गले समेत सजिलै बुझ्नेगरी सरल भाषाको प्रयोग गरेका छन् । अन्तिम खण्डमा ३५ श्लोक उपजाति छन्द लेखेर महाकाव्य बिट मारेका छन् ।

लम्साल भन्छन्, ‘सामान्य विद्यार्थीदेखि काव्यका पारखीसम्मलाई ख्याल राखेर मैले भाषा चयन गरेको छु । यसैले अग्नि सरल छ भन्ने दाबी गर्न सक्छु ।’

बीस वर्षको रचनागर्भ

महाकाव्य, खण्डकाव्य दुर्लभ बन्दै गएको बेला नवराज लम्साल भने यसैमा आफ्नो ‘स्पेस’ खोजिरहेका छन् । २०६६ मा कर्ण र २०७३ मा प्रकाशित धरा महाकाव्यले यसको प्रमाण दिन्छ ।

उनका अनुसार अग्नि महाकाव्यको रचनागर्भ भने बीस वर्षको छ । ‘२०५८ मा हेटौंडा गएका बेला त्यहँका बुढापाकाबाट जेठी तरबारको कथा सुनेपछि त्यसमाथि काव्य लेख्ने कौतूहल बढ्यो’ उनी भन्छन्, ‘विभिन्न इतिहासकार, अनुसन्धानकर्ताहरूसँग परामर्श गर्दै महाकाव्य लेख्नेे निधो गर्दा समय लाग्यो ।’

भर्खरै प्रकाशित महाकाव्य ‘अग्नि’सँग नवराज लम्साल ।

महाकाव्य लेख्ने क्रममा उनले बाल्यकालदेखि देख्दै-भोग्दै आएको सामाजिक विभेदलाई निचोरेर कवितामा रस भरे । धादिङ ज्याम्रुङका खाँटी पण्डित परिवारको पुत्र लम्सालले घर-आँगनबाटै छोइछिटो देखे । दलितहरू घर आउँदा टाढैबाट खानेकुरा दिएर तिनलाई हप्कीदप्की गरेको देखे ।

स्कुल जाँदा सँगै पढ्ने विश्वकर्मा थरको साथी अन्तिम बेन्चमा एक्लै बसेको देख्दा उनलाई नरमाइलो लाग्थ्यो । मेलापात जाँदा दुई समूहले छुट्टाछुट्टै पानी खान लाइन बसेको देख्दा अचम्म मान्थे ।

रामायण, महाभारत, पुराण घरबाटै सिकेका लम्साल जजमानी गर्न पिताको पछि लागेसमेत हिंडे । भजन गाउन गाउँगाउँ डुले । आठ कक्षासम्म गाउँमा पढेपछि संस्कृत पढ्नकै लागि धादिङबाट काठमाडौं आए । संस्कृत पढे, साहित्य पढे । तर पेशा रोजे सञ्चारकर्म ।

‘५२ वर्षको जीवनमा जेजति देखेँ-भोगेँ त्यसैको प्रतिबिम्ब हो अग्नि’ उनी स्वीकार्छन्, ‘जातले म कथित ब्राह्मण भए पनि यो काव्यमा आगोमा रातो बलेको फलाम पिटिरहेको मान्छेको आँखाबाट देशलाई हेरेको छु ।’

बीस वर्षअगाडिदेखि छुवाछूत, युद्ध, जातव्यवस्था जस्ता विषयका विविध पक्ष खोजेर डायरी टिपेका उनले अधिकांश सर्ग भने पछिल्लो पाँच वर्षमा लेखेका हुन् । पाँच वर्षअगाडि धरा महाकाव्य लेखिसक्नेबित्तिकै उनले अग्नि थाले ।

अग्निबारे उनी थप्छन्, ‘हामीले घरको घुरीमा बसेर जग हेर्यौं, अब जगबाट माथि हेनुपर्छ । अर्थात् जसलाई दलित भनेका छौं उसको आरनबाट यो समाज र राष्ट्र हेर्नुपर्छ ।’

लम्सालका अनुसार पूर्वीय दर्शनमा कहीँकतै छुवाछूत उल्लेख छैन । सत्ता र शासनको लागि बिस्तारै उपबुज्रुक पण्डितहरूले गर्दा छुवाछूत जस्तो अमानवीय अवस्था समाजमा हाबी भएको उनको बुझाइ छ ।

अग्निको एकमात्र सार मान्छेको मुक्तिलाई मानेका छन् । महाकाव्यको अन्तिम सर्गमा उनी लेख्छन्-

जो गर्छ आफ्नै दिलभित्र क्रान्ति
त्यै क्रान्ति हो शाश्वत पूर्णक्रान्ति

सामूहिकतामा विश्वास

तीन दशकदेखि साहित्य र रेडियोकर्म गर्दै आएका लम्साल सामूहिक प्रयत्नलाई ठूलो मान्छन् । कुनै पनि कुरालाई जनता, पाठक वा स्रोतासम्म पुर्याउन सामूहिक प्रयासले सम्भव हुने कुरा उनले रेडियोबाट सिकेका छन् ।

अग्नि लेख्ने क्रममा उनले चिन्तक आहुति, नेताहरु मीन विश्वकर्मा, छविलाल विश्वकर्मा, पदम विश्वकर्माहरूसँग चरणबद्ध छलफल गरे । प्रा. डा. राजाराम सुवेदी लगायतसँग सुझाव लिए ।

रेडियोको कामका लागि उनी देशको जुन भागमा गएपनि त्यहाँको दलित बस्तीमा पुग्थे । त्यहाँ रहेको आरन हेर्थे । जाजरकोट, जुम्ला, रुकुम, रोल्पा र काठमाडौं उपत्यकाका आसपासका आरनमा पुगेका छन् उनी ।

‘आरनमा पुग्दा सम्भव भएपसम्म त्यहाँ काम गर्नेहरूसँग कुराकानी गर्थेँ’ उनी भन्छन्, ‘कोही बोल्न चाहेन भने पनि आगोको रापमा फलाम पिटिरहेको मानिसको आँखा हेरेर फर्कन्थेँ ।’

लम्सालको अनुभवले भन्छ, समाजमा शिक्षाको ज्योति फैलिरहँदा समेत जात व्यवस्था झन् बढेर गएको छ । यसो हुनुमा पढेलेखेका र पहुँचमा भएकाहरूको द्वैध चरित्रलाई मूल कारण मान्छन् ।

‘जो पढेलेखेको र माथिल्लो ओहदामा पुगेको छ, उसैले बाहिर समानताको कुरा र भित्र छुवाछूतलाई प्रश्रय दिइरहेको’ उनी बताउँछन् ।

२०७२ आसपास लम्सालको परिवारमा एउटा घटना घट्यो । उनकी छोरीले दलित समुदायको पुरुषसँग प्रेम-विवाह गरिन् । ठूलो परिवारलाई सम्झाईबुझाई गर्न उनलाई हम्मेहम्मे पर्यो । ठूलो परिवारमा बुबाआमा, दाजुभाइ सबै भएकाले घटनालाई सहज बनाउन उनलाई निकै समय लाग्यो ।

अहिले उनी समय मिलेसम्म नातिनीसँग बस्न मन पराउँछन् । अग्नि महाकाव्यको समपर्ण उनले तिनै नातिनी आयरालाई गरेका छन् । नयाँ युगको अभिभारा उठाउन तयार आयराहरूलाई सम्बोधन गर्दै उनी लेख्छन्-

आयरा अज्ञानले हारेर ज्ञानले जितेको तिम्रो युग हुनेछ ! अर्थात्, मान्छेलाई मान्छे बन्न नदिने क्रुर जात व्यवस्था एकदिन अवश्य हट्ने विश्वास लिएका छन् ।

साथै आरनलाई बिटुलो मान्नेहरूलाई उनी दर्बिलो प्रश्न गर्छन्, ‘त्यही आगोको स्पर्शले तयार हुने भान्सा कसरी चोख्याउँछौ ?’

भर्सटाइल व्यक्तित्व

गीत, कविता, निबन्ध, समालोचना र महाकाव्यमा समानान्तर लेखिरहेका नवराज लम्साललाई आम जनताले रेडियोकर्मीको रुपमा चिन्छन् । २०५१ देखि रेडियोमा बोल्न थालेका उनी आज पनि रेडियो नेपालमा कार्यक्रम चलाइरहेका छन् ।

साहित्यिक वृत्तमा भने कवि र गीतकारका रुपमा स्थापित छन् । तीन सयभन्दा बढी गीत रेकर्ड भइसकेका लम्साल पछिल्ला वर्षहरूमा कवितामै केन्द्रीत छन् ।

लेख्ने-पढ्ने सबैसँग हातेमालो गर्दै अघि बढिरहेका लम्साल आफ्नो पुस्तासँग भन्दा बढी युवाहरूसँग उठबस गर्न रुचाउँछन् । युवाहरू भनिरहेका हुन्छन्, ‘नवराज दाइ सरल छन् । सहृदयी छन् ।’

नभनुन् पनि किन, किशोरावस्था मात्र पार गरेका युवा कविहरूको कवितासंग्रह प्रकाशित हुँदा उनले ती सबै युवाकविलाई रेडियो नेपालमा बोलाएर अन्तर्वार्ता लिए । मधुवन कार्यक्रममा फोनबाटै देशैभरिका कविहरूको कविता प्रसारण गर्छन् ।

लम्साल जुन जिल्ला जान्छन् त्यहीँको साहित्य र संस्कृतिलाई मियो बनाएर कार्यक्रम बनाई रेडियो नेपालबाट प्रसारण गर्छन् । ‘म भविष्य युवाहरूको कर्ममा देख्छु । यसैले उनीहरूसँग निकट रहेर काम गर्न मन पराउँछु’ उनी भनिरहेका हुन्छन् ।

अग्नि प्रकाशित भएकै साता उनी पूर्वी भारतको असमको साहित्यिक यात्रामा निस्केका छन् । त्यहाँ स्वनामधन्य कवि हरिभक्त कटुवालको प्रतिमा उद्घाटन गर्न पुगेका उनी धेरैभन्दा धेरै असमका नेपालीभाषी साहित्यकारहरूसँग भेट्न चाहन्छन् ।

तस्वीर/भिडियो : शंकर गिरी ।



from समाचार – Online Khabar https://ift.tt/3AJYWXo

Post a Comment

0 Comments