२ असोज, बैतडी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् ।
सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ ।
‘सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी छ’, उनले भने । गत भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा समस्या भएको पन्तको भनाइ छ ।
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ ।’ सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको छ ।
सुपरीवेक्षकका सुरक्षाका लागि प्रहरी टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिने छ ।
मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।
from समाचार – Online Khabar https://ift.tt/3nM8bT8
0 Comments
if you have any doubts, please let us know.