भूपी शेरचन राजमार्गको ११ ठाउँमा पहिरो, सिडिओ भन्छिन्- खुल्नै हप्तादिन लाग्छ

१९ भदौ, पोखरा । असारको सुरुदेखि नै बाढी पहिरोले बितण्डा मच्चाउन थालेको गण्डकी प्रदेशमा शुक्रबारसम्म ८ बालबालिकासहित ३४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिस्थापित भएका छन् । अर्बौं रुपैयाँको क्षति पुगेको छ ।

कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोले १८ जनाको ज्यान लियो । पर्वतमात्रै ११ जनाले पहिरोमा ज्यान गुमाए । अहिले उनीहरुको शव जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ । सोही पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अहिले अवरुद्ध छ ।

भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ वासी राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

कुनै घटना घट्यो र गम्भीर घाइते भए, गम्भीर खालको बिरामी भएर जिल्ला अस्पतालबाट पोखरा वा काठमाडौं रिफर गर्नुपर्ने अवस्था आयो भने अहिले हेलिकप्टर कै जोहो गर्नुपर्ने अवस्था छ ।

गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियरसहित ३ जना बगाएको थियो । त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् । तीमध्ये अधिकांश ठूला र पहाडैसहित खसेका छन् ।
‘भूपी शेरचन राजमार्गमा डेढ घन्टा जति हिँड्यौ हामी । बाटोभरि पहिरो नै पहिरो छ । मानिसहरु ठूलो जोखिम मोलेर पैदल त हिँडिरहेका छन् तर राजमार्ग खुल्ने अवस्था छैन,’ सिडिओ पाण्डेले भनिन्, ‘कुश्मादेखि पातीचौरसम्म ३ घन्टा जति हिँडेर जाने र त्यहाँबाट अर्को गाडी चढ्ने अवस्था रहन सक्छ तर सडक नै तत्काल खुल्न सम्भावना छैन,’ उनले भनिन्, ‘तत्काललाई पोखरा वा काठमाडौं रिफर गर्नुपर्‍यो भने समस्या छ ।’

राजमार्ग खुलाउन छिटोभन्दा छिटो पहल गर्ने उनले बताइन् । निर्माण व्यवसायी र अन्य सरोकारवालासँग सल्लाह गर्दा एक हप्ता लाग्न सक्ने बताएको पाण्डेले जानकारी दिइन् । ‘तर त्योभन्दा अगाडि नै खोल्न पर्छ भनेर लागि परेकी छु,’ पाण्डेले भनिन् ।

सबैभन्दा धेरै पर्वत खण्डको कुश्मादेखि पातीचौरसम्म ठूला पहिरोले राजमार्ग थुनेको पाण्डेले बताइन् ।

तस्वीर : पदम श्रेष्ठ



from समाचार – Online Khabar https://ift.tt/3mYye9n

Post a Comment

0 Comments