२०६५ सालको कुरा, रामजी खाँण गायक कहलिएकै थिएनन् । वितेको १० वर्षदेखि उनी अविच्छिन्न संघर्ष गरिरहेका थिए । तर नतिजा, हात लाग्यो शून्य ।
उनी निराश र हतास थिए । अन्ततः गायकीलाई चटक्कै छाडेर विदेशको बाटो तताउने निधो गरे । पासपोर्ट बनाए, भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । उनले एजेन्टलाई अनुनय गरे, ‘जुनसुकै कम्पनीमा, जस्तोसुकै काममा भए पनि जान्छु ।’
एकातिर म्यानपावरको चक्कर काटिरहेका थिए, अर्कोतिर रहल-पहल गीत पनि गाइरहेकै थिए । त्यही बखत सार्वजनिक भयो –
देउरालीको भट्टी पसल
तुम्बा र छ्याङभन्दा नि साहुनीको बोली असल…
एउटै गाउँका सर्जक शिव हमालसँग उनको गज्जबको दोस्ती थियो । सोही बीचमा रामजी र शिवको सहकार्यमा यो गीत सार्वजनिक भएको थियो । शिवको शब्द, संगीतमा देवी घर्ती र रामजी खाँणले गाएको यो गीत एकाएक चर्चामा आयो ।
लगत्तै रामजी र शिवको सहकार्यमा अर्को गीत सार्वजनिक भयो, ‘पछ्यौरी लेउ बैना’ । रामजी र विष्णु माझीको स्वर रहेको यस गीतले लोकदोहोरी पारखीमाझ निकै चर्चा पायो । यी गीतहरू रुचाइएनन् मात्र, विदेश जाने तरखरमा रहेका रामजीका पाइलालाई नेपालमै रोक्यो ।
कुनै दिन प्रसंगवश यी गीतका गीतकार तथा संगीतकार शिव हमालले गफैगफमा भनेका थिए, ‘चल्न गाह्रो भयो भन्नुहुन्थ्यो । विदेश जाने तयारी थाल्नुभएको थियो । मैले मिहिनेत गरे महीनामा २० हजार यही कमाइन्छ भन्थें । महीनामा २० हजार कमाउने लक्ष्य भनेपछि त्यो धरातलबाट संघर्ष गरेका थियौं ।’
रामजी यी गीतलाई आफ्नो सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’का रूपमा लिन्छन् । उनी सम्झन्छन्, ‘यी गीतहरू चलिसकेपछि मेरो भिसा आयो । गीत चलिरहेको छ । रेकर्डिङका अफरहरू आइरहेका छन् । अनि किन विदेश जानू ?’ उनले भिसा क्यान्सिल गरे ।
यी दुई गीतहरूले आफूलाई व्यावसायिक गायनमा र शिव हमाललाई सर्जकका रूपमा निकै फाइदा पुर्याएको रामजी बताउँछन् ।
त्यसयता यस्तो समय आयो- रामजीले गाएपछि गीत चल्यो । लोकदोहोरीमा प्रेम-विरह भाकामा उनी औधी रुचाइए । एकपछि अर्को गीत गाइरहे, श्रोताहरूले रुचाइरहे ।
गायक बन्न संघर्ष अनि विदेशिन तम्तयार
एसएलसी दिंदासम्म रामजीमा गायक बन्ने हुटहुटी जागिसकेको थियो । साथीभाइ, टोल-छिमेक, गाउँको नजरमा उनी गायक कहलिइसकेका थिए ।
गीत रेकर्ड गराउन, गायक बन्न काठमाडौं जानुपर्छ भन्ने उनले बुझेका थिए । एसएलसी उत्तीर्ण गरेपछि भने उनलाई काठमाडौं आउने बहाना मिल्यो ।
काठमाडौं गएर कलेज पढ्छु भनेर परिवारलाई फकाए । बहाना कलेज पढ्ने, सपना गायक बन्ने ।
गोजीमा २५ हजार रुपैयाँ बोकेर उनी स्याङ्जाको वालिङ बजारबाट पहिलो पटक काठमाडौं आउनका लागि रात्रिबस चढे । परिवारले दिएको त्यो रकम त्यतिबेलाको लागि ठूलो थियो । यो २०५६ सालको कुरा हो ।
काठमाडौंमा आफन्तहरू थिए, केही समय उनीहरूसँगै बसे ।
एक साँझ । पहिल्यैदेखि चिनजानमा रहेका पुराना गायक गोपाल जिटीलाई भेट्न रामजी सुन्धारामा रहेको पुकार दोहोरी साँझमा पुगेका थिए ।
जहाँ लोकदोहोरीका खुँखार गायक-गायिकाहरू राजु परियार, बद्री पंगेनी, शर्मिला गुरुङ, शिला आलेले गीत गाउँथे ।
गाउँघरमा गाइरहेका रामजीलाई त्यहाँ गाउने तलतल लागिरहेको थियो । स्टेजमा उक्लिएर उनले पनि गीत गाइहाले । बद्री पंगेनी लगायतसँग कुराकानी भयो । रामजीले अल्बम ल्याउने आफ्नो रहरबारे सुनाए । उनीहरूले पनि रामजीको स्वरको खुलेर प्रशंसा गरे ।
रामजीको रहर सुनेपछि बद्री पंगेनीले उनलाई भने, ‘मलाई भोलि बिहानै भेट्नुहोस् । म तपाईंलाई स्टुडियो पुर्याउँछु ।’
रामजी सम्झन्छन्, ‘उहाँले मलाई रत्न बानियाँको झरना संगीत रेकर्डिङ स्टुडियोमा पुर्याइदिनुभयो । उहाँसँग भेट गराइदिनुभयो ।’
रत्न बानियाँ यस्ता व्यक्ति थिए, जसको सहयोगमा धेरै नयाँ लोकदोहोरी गायक-गायिकाहरू स्थापित भएका छन् । उनको गत वर्ष माघमा निधन भयो ।
रामजीले रत्नकै स्टुडियोमा पहिलो गीत रेकर्ड गराए, ‘वालिङ बजारमा’
‘वालिङ बजारमा सानु
मोहनी रै’छ नि तिम्रो नजरमा’
उनकै शब्द, संगीत रहेको यो गीतमा उनीसँगै शर्मिला गुरुङ र शिला आलेले स्वर दिए । अडियो क्यासेटको जमानामा उनको पहिलो अल्बम ८ हजार प्रति बिक्री भयो । ‘त्यो समय राम्रा गीतका क्यासेटहरू लाखभन्दा बढी प्रति बिक्री हुन्थे । त्यसको तुलनामा मेरो निकै थोरै थियो । तर, त्यसबाट मलाई नाफा भएको थियो । म निकै खुशी भएँ’ रामजी सुनाउँछन् ।
पहिलो गीतबाट केही नाफा कमाएपछि उनी हौसिए । त्यही फाइदामा अलि लगानी बढाएर अर्को गीत ल्याए- बस्यौ दिलभरी । समय सधैं कहाँ एकैनास हुन्छ र ? दोस्रो अल्बमबाट उनले धेरै घाटा व्यहोर्नुपर्यो । ‘हौसिएर बढी खर्च गरेर अर्को गीत गरें । त्यो गीतको लगानी डुब्यो’ उनी भन्छन्, ‘त्यसपछि अर्को गीत गर्न पैसा भएन ।’
त्यतिबेलासम्म अरूले पत्याएर गाउन दिने अवस्था बनिसकेको थिएन । २०५७ सालमै विवाह गरिसकेका थिए । पारिवारिक जिम्मेवारी पनि आफ्नै काँधमा आइसकेको थियो ।
त्यसपछि उनले दोहोरी साँझ, रेष्टुरेन्ट तथा क्यासेट कम्पनीहरूमा जागिर गरे । धौलागिरी क्यासेट सेन्टर, कान्तिपुर क्यासेट सेन्टरमा अरूका अल्बमको क्यासेट प्याक गर्ने, डिलरहरूमा पुर्याउने काम गर्थे ।
त्यस्तै एकपछि अर्को दोहोरी साँझ, रेष्टुरेन्टहरूमा गीत गाए । ‘त्यो बेला काठमाडौंमा रहेका अधिकांश दोहोरी साँझहरूमा चहारेको थिएँ’, उनी सांगीतिक विगतमा फर्किन्छन् ।
दोहोरी साँझमा गाउँदा तलब हुन्थ्यो, दुई-तीन हजार । त्योभन्दा अलि बढी टिप्स हुन्थ्यो । त्यहाँबाट कमाएको पैसाले दुःखजिलो तरिकाले खर्च चलाउँथे । थोरै-थोरै गरेर जम्मा गर्दै गीतहरू ल्याउँदै गरेका थिए । त्यसबीचमा ‘पूर्व घाम, पश्चिम छायाँ छ’, ‘डाँडै चिल बस्यो’, ‘मन परेको फूल खसेको’, ‘सम्झनामा आँसु झरेको’, ‘भन्नै पर्छ र ?’ आदि गीत आएका थिए । यीमध्ये केही गीतहरू राम्रो रुचाइए पनि कमाइ राम्रो नहुँदा रामजीलाई टिक्नका लागि गाह्रो भइरहेको थियो । दुई छोराहरू पनि भइसकेका थिए ।
परिवारबाट पनि ‘यतिका वर्ष भयो गीत-संगीत भनेको केही भएन, अब केही गर्नुपर्छ’ भन्ने खालको कुरा आउन थाल्यो । अन्ततः उनी कमाउनका लागि विदेश जाने मनस्थितिमा पुगेका थिए । सोही बखत सार्वजनिक ‘देउरालीको भट्टी पसल’ र ‘पछ्यौरी लेउ बैना’ पछि उनी कमाउनका लागि विदेश जानु परेन । सांगीतिक करिअरमा पनि उनले पछाडि फर्किनु परेको छैन ।
अविच्छिन्न व्यस्तता
क्रमशः रामजीका ‘पार्यौ मलाई रुन मायालु’, ‘रक्षा गर हरि’ लगायतका गीतहरू रुचाइए । त्यस्तै विष्णु माझीसँग गाएको ‘धर्ती कुनको आकाश जूनकै हो’ गीतले निकै चर्चा कमायो । यो उनले पारिश्रमिक लिएर (व्यावसायिक रूपमा) गाएको पहिलो गीत थियो । जसै उनका एकपछि अर्को गीतहरू चल्न थाले, उनलाई भ्याई-नभ्याई हुन थाल्यो । कहिले स्टुडियोमा, कहिले स्टेजमा उनी निरन्तर व्यस्त बनिरहे ।
२०६७/६८ सालतिरको कुरा हो, उनले दिनमा पाँच वटाभन्दा बढी गीत गाउनुपर्ने समय आयो । उनी भन्छन्, ‘एकैदिन १० वटासम्म पनि गीत गाएको छु । पाँच वटाजति त दैनिकजसो नै हुन्थ्यो ।’
धेरै समय स्टेजमा व्यस्त हुँदा गीतहरू पेन्डिङमा हुने गरेका कारण एकै दिन धेरै गाउनुपर्ने समय रहेको सम्झन्छन् । एकैदिन पाँच वटाभन्दा बढी गीत गाउँदा अर्को दिनलाई रेकर्डिङ राख्दैनथे ।
क्रमशः ‘मायालुको बोली’, ‘यो संसारको रित’, ‘मैले मन पराएको छु’, ‘धेरै माया गर्छु’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘तिम्रो मेरो सम्बन्ध धेरै माथि हो’ जस्ता हिट गीतहरूको ‘चाङ’ लाग्दै गयो ।
अनि मोडल पनि
रामजीका गीत श्रोताहरूले सुन्दै/मनपराउँदै गए । गीतका कारण उनको नाम पनि नोटिस हुँदै गयो । तर, उनलाई प्रत्यक्ष रूपमा चिन्नेहरू कमै रहे । जुन कुरा उनले महसूस गरेका थिए ।
उनी स्टेज कार्यक्रमका लागि हिंडिरहेका हुन्थे । त्यहाँ गेटमा गार्डले नचिनेर केही समय रोकेका किस्साहरू छन् ।
कार्यक्रममा गएर दर्शकको अगाडि बसिरहेका हुन्थे, उनीहरूले त्यहीं रहेका रामजीलाई चिन्दैनथे । उनले कानेखुसी गरेको सुन्थे, ‘रामजी खाँण कतिबेला आउने होला ?’
‘मलाई दर्शकहरूले त्यतिबेला मात्र चिन्नुहुन्थ्यो’ उनी मोडल पनि बन्नुको कारणबारे अगाडि भन्छन्, ‘जतिबेला म माइक समाउँछु । धेरै शुभचिन्तकले पनि मलाई भिडियोमा देखिन आग्रह गर्नुभयो । त्यसपछि भिडियोमा अभिनय गरें ।’
उनले अभिनय गरेको ‘सकिन जून छुन’ लाई धेरै रुचाइयो । त्यसपछि उनको स्वर र अभिनय रहेको ‘फूल फुलेर पहेंलै भयो’ निकै चल्यो । उनी भन्छन्, ‘त्यसपछि त तपाइर्ं नै गाउने, तपाईं नै नाच्ने भनेर अफरहरू आउन थाल्यो ।’
यद्यपि आफूलाई गायककै रूपमा चिनाउन चाहने उनी बताउँछन् । ‘मोडलिङलाई पनि श्रोता एवं दर्शकले स्वीकारिदिनुभयो । सोही कारण भिडियोमा देखिंदै गएँ’ उनी भन्छन्, ‘तर म आफूलाई गायक नै भन्न रुचाउँछु ।’
उनले भिडियोमा अभिनय गर्दासम्म लोकदोहोरीमा आफैं गाउने, आफैं नाच्ने प्रचलन खासै थिएन । रामजी नाचेपछि धेरै गायक पनि भिडियोमा देखिन थाले । अहिले धेरै गायक भिडियोमा नाचिरहेको पाइन्छ ।
स्याङ्जाली ठिटो
स्याङ्जा चापाकोटको घुर्लीचौरमा जन्मिएका हुन् रामजी । उनलाई स्याङ्जा आफैंमा लोक-संगीतको उर्वर भूमि लाग्छ । त्यसैले त उनी पनि सानैदेखि गुन्गुनाउँथे । रेडियोमा गीत सुन्ने, त्यसलाई दुरुस्तै कपी गरेर गाउने गर्थे । मेलापात, पूजाआजामा उत्तिकै गुन्गुनाउँथे । सुन्नेहरू भन्थे-स्वर निकै राम्रो छ ।
उनको पारिवारिक पृष्ठभूमि भने लाहुरे । बुवा इन्डियन आर्मीमा थिए । बुवा अहिले इन्डियन आर्मीको क्याप्टेनबाट रिटायर्ड भइसकेका छन् । अंकलहरू पनि लाहुरे । गाउँघरमा धेरै जना लाहुरे । सोही कारण बाल्यकालमा हुँदा गीत गाउने गरे पनि उनको रुचि लाहुरे हुने थियो ।
उनको बुवाको चाहना भने छोरालाई लाहुरेभन्दा अरू नै बनाउने थियो । ‘छोराले राम्रोसँग पढोस् । आफूले जस्तो दुःख नपाओस् भन्ने बुवाको सोच थियो’, रामजी सुनाउँछन् ।
उनले कक्षा ८ सम्म घर नजिकैको विद्यालयमा अध्ययन गरे । त्यसपछि पढ्न दुई घण्टाभन्दा बढी हिंडेर ज्याग्दी खोलामा रहेको राममन्दिर विद्यालयमा पुग्नुपर्थ्यो । विद्यालय जंगलको बाटो हुँदै जाने-आउने गर्नुपथ्र्यो । सो क्रममा उनी ठूलो स्वरमा गीत गुन्गुनाउँथे । त्यतिबेलासम्म विद्यालयमा प्रतियोगितामा खुलेर गाउन भने उनी लजाउँथे । कक्षा ९ मा पढ्दै गर्दा सांगीतिक कार्यक्रममा एकजना साथीले उनको नाम टिपोट गरिदिए । नाम उद्घोष भएपछि उनलाई नगाएर सुखै भएन । स्टेजमा उक्लिएर डराई-डराई गीत गाए । ‘सो प्रतियोगितामा प्रथम भएँ । अनि त आत्मबल बढ्यो’ रामजीले सुनाए ।
त्यसपछि विद्यालयका हरेक सांगीतिक कार्यक्रममा रामजीले भाग लिन थाले । वडास्तरीयहुँदै जिल्लास्तरीय लोक गायन प्रतियोगितामा समेत भाग लिए । प्रथम भएर विभिन्न पुरस्कार हात पारे । त्यसपछि हो, उनमा ‘गायक नै बन्ने’ सपना पलाएको ।
जे दियो लोकदोहोरीले दियो
हालसम्म आउँदा ६ हजार बढी गीतमा स्वर दिएको उनको दाबी छ । त्यस्तै ५०० गीतमा मोडलिङ गरेको उनी बताउँछन् । अहिले पनि उनी गायन र मोडलिङमा उत्तिकै सक्रिय छन् ।
‘जाम सुस्तै सुस्तै’, ‘केशरी’, ‘चौतारीको बर’ ‘सिलौटोमा चटनी’, ‘सोल्टी राजाको टुम्लेट’ उनको अभिनय रहेका पछिल्ला रुचाइएका गीतहरू हुन् । त्यस्तै, ‘सिमल छायाँले’, ‘पानको पत्ता’, ‘डालीको फूल’, ‘भाग्यमै छौ’ उनको गाउन र अभिनय दुवै रहेका पछिल्लो चलेका गीतहरू हुन् ।
आफूले सांगीतिक क्षेत्रबाट धेरै कुरा पाएको र यो सबै श्रोता एवं दर्शकहरूको मायाका कारण सम्भव भएको रामजीको भनाइ छ ।
हिजो वैदेशिक रोजगारमा जान तम्तयार उनी आज सांगीतिक कार्यक्रमको सिलसिलामा दोहोर्याई, तेहर्याई धेरै देश पुगेका छन् । हिजोका दिनमा काठमाडौंमा कोठाभाडा तिर्न धौ-धौ हुन्थ्यो । आज सांगीतिक क्षेत्रबाट आफ्नै बलबुताले काठमाडौंमा घर ठड्याएका छन् । हिजो सार्वजनिक यातायात, त्यो नभए पैदल नै हिंड्ने उनी आज आफ्नै गाडीमा हिंड्ने भएका छन् । उनी स-गौरव सुनाउँछन्, ‘मलाई जे दियो यही लोकदोहोरीले दिएको हो । सांगीतिक क्षेत्रले दिएको हो । यसबाट एकदमै खुशी छु ।’
उनले सांंगीतिक क्षेत्रबाटै थुप्रै अवार्ड समेत हात पारेका छन् । हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय द्वितीय उपाध्यक्ष, स्याङ्जा स्रष्टा सदनको अध्यक्ष, प्रस्तोता समाज नेपालको सदस्यका रूपमा समेत सक्रिय छन् ।
तस्वीरहरू : आर्यन धिमाल / अनलाइनखबर
from समाचार – Online Khabar https://ift.tt/3tU3ZSu
0 Comments
if you have any doubts, please let us know.