कर्णालीमा ३०७ वडामा अझै अधिवेशन हुन सकेन

२३ भदौ, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचन देशैभर चलिरहँदा कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ४११ वडामा मात्रै वडाधिवेशन सम्पन्न भएको छ । प्रदेशका ३०७ वडा अझै अधिवेशन हुन बाँकी नै छन् ।

प्रदेशका १० जिल्लामध्ये मुगु र सल्यानमा सोमबारदेखि वडाधिवेशन सुरु भएको हो । जाजरकोट, दैलेख, हुम्ला र जुम्लामा भने १८ गतेदेखि नै वडाधिवेशन सुरु भएको थियो । कालीकोटमा र रुकुमपश्चिममा वडा अधिवेशन गर्ने तयारी गरिएको छ ।

क्रियाशील सदस्यता विवादका कारण सुर्खेत र डोल्पामा भने वडाधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले नै अहिलेसम्म क्रियाशील सदस्यहरुको नामावली सार्वजानिक गरेको छैन, नामावली सार्वजानिक भए, एकसाता भित्र वडाधिवेशन हुन सक्छ,’ काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने ।

अधिवेशन सम्पन्न भएका सबै वडामा नेतृत्वसहित वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको कांग्रेसको दावी छ । अहिलेसम्म दैलेखका ९०, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ४३, मुगुमा १९, सल्यानका ८३ र कालिकोटका ४० वडाको वडाधिवेशन सम्पन्न भएको छ ।

दैलेखका सहायक निर्वाचन अधिकृत कृष्णबहादुर थापाका अनुसार दुल्लु नगरपालिका वडा-२ र ढुङ्गेश्व गाउँपालिका वडा नं.–२ मा निर्वाचनमार्फत वडासभापति चएन गरिएको छ भने अन्य वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको हो ।

जुम्लाका ६० वडामध्ये ५९ वडामा नेतृत्वसहित वडा कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका वडा नं. ८ मा भने निर्वाचन गर्नुपर्ने अवस्था आएको नेपाली कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले जनाए । ‘तीन जना वडासभापतिको आकांक्षी हुनुहुन्छ, चर्को विवाद छ, निर्वाचन गर्नुपर्ने देखिन्छ,’ सभापति शाहीले भने ।

त्यस्तै हुम्लाका कुल ४४ वडामध्ये हालसम्म ४३ वडाको नेतृत्वसहित पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको हुम्लाका पार्टी सभापति जयपति रोकायाले जनाए । ‘बाँकी एउटा वडा भौगोलिक कठिनाइका कारण पुग्न सकिएको छैन्, त्यहाँ पनि सर्वसम्मतिमा नेतृत्व छनोट हुन्छ,’ उनले भने ।

जाजरकोटका सभापति दीपकजंग शाहका अनुसार जिल्लाका ७७ वटै वडाको नेतृत्व सर्वसम्मत चएन गरिएको छ । त्यस्तै मुगुमा ४५ वडामध्ये १९ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन् । बाँकी २६ वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको कांग्रेस मुगुका सभापति खड्कबहादुर शाहीले जानकारी दिए ।

सल्यानका ८३ वटै वडाको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति गणेश चन्दका अनुसार जिल्लाका धेरै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने केही वडामा निर्वाचन गरिएको हो ।

‘जिल्लाका अधिक वडामा सर्वसम्मत नेतृत्व छानिएका छन्, शान्तिपुर्ण ढंगले चुनाव सम्पन्न भएको छ,’ सभापति चन्द्रले भने, ‘तर, बनगाड कुपिण्डेको–११ नम्बर वडामा रातारात कसैलाई जानकारी नदिएर नेतृत्व छनोट गरियो भन्ने निबेदन आएको छ, त्यो समस्या पनि आजै टुङ्ग्याउँछौं ।’

कालिकोटका सभापति हर्षबहादुर बमका अनुसार जिल्लाका ८२ वडामध्य हालसम्म ४० वटा वडाको निर्वाचन सम्पन्न भएको छ । ३ वडाको नेतृत्व सर्वसम्मत चएन गरिए पनि सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ३ मा भने भोटिङ्ग गर्नुपरेको थियो ।

नेतृत्वमा महिला सहभागिता शून्य

काँग्रेसको वडाअधिवेशनबाट राजनीतिमा युवा शक्तिले हस्तक्षेप गरिरहेकै बेला प्रदेशका कतिपय जिल्लाहरुमा महिला प्रतिनिधित्व भने शून्य रहेको छ । जाजरकोटमा भएको वडा तहको नेतृत्वमा महिला एकजना पनि छैनन् ।

जाजरकोटका ७७ वटै वडामा सबै पुरुषले कब्जा जमाएका छन् ।  केही संख्यामा मात्र दलित   समुदाय नेतृत्वमा आएका छन् ।

‘क्षमतावान र योगदानको आधारमा सबैलाई सर्वसम्मत नेतृत्व छनोट गरेको छौँ,’ जाजरकोटका कांग्रेस सभापति दीपकजंग शाह भन्छन्, ‘हाम्रो जिल्लामा महिला दिदीबहिनीहरु नेतृत्वमा आउनै चाहनु हुन्न, टाठाबाठा स्थानीय तहमा गइहाल्छन् ।’

७७ वडामध्ये ५ वडामा दलित समुदायबाट नेतृत्वमा आएका छन् । जाजरकोटमा मात्रै हैन् हालसम्म निर्वाचन सम्पन्न भएका प्रदेशका अन्य जिल्लाहरुमा पनि दुई-तीन जना बाहेक अन्य वडा सभापतिमा महिला नेतृत्व छैन् ।

नेतृत्वसम्म पुग्ने अवसरबाटै बञ्चित गराएर पार्टी विधानले तोकेको कोटामा बाहेक महिला, दलितलाई खुम्चाइएको छ । आपसमा सहमति गराउँदा आकांक्षा राख्नेले समेत अवसरबाट वञ्चित हुनुपरेको केही नेताहरुको गुनासो छ ।



from समाचार – Online Khabar https://ift.tt/2WYvpdx

Post a Comment

0 Comments