‘बिहे त छिट्टै गर्नुपर्ने रहेछ हाउ दाजु !’, अलि भावुक भएर निन्याउरो अनुहार पारेर सानेले मतिर फर्केर भन्यो ।
‘किन र कान्छा ?, के बुझिस् हाउ त्यस्तो गम्भीर पहलु जीवनको । बडो सिरियस भएर पो भन्दैछस् त फेरि’, मैले उत्तर दिएँ ।
‘बुझें नि दाजु, मलाई यस्ता कुराहरू बोल्न अलिक सजिलो लाग्दैन । लाज लाग्छ, कसैले कविता लेखेर कसरी त्यत्रा मान्छेका अघि लाजै विना सुनाउन सकेको होला जस्तो लाग्छ । हुन त तपाईं पनि गजल लेखेर स्टेजमा सुनाउने मान्छे हो । अलि लाज लागे जस्तो हुँदैन दाजु तपाईंहरूलाई ?’ सानेले फेरि प्रश्न थप्यो ।
मलाई पनि हो कि, हो कि झैं लाग्ने यो कुतकुतीले उसका अरू कुरा सुन्न हुटहुटी जाग्यो । मैले उसलाई हकारे जस्तो गरी भनें, ‘दुई प्याक हानेर आइस् क्या हो साने, दिउँसै आज ?’
‘हानेको दाजु, आज कस्तो नमीठो लाग्यो जिन्दगी । रमेशे र म बिहानदेखि सेउपाखामा (रक्सीको खाजा घर) पसेको । पैसा पनि मैले नै तिरें’, उसले भन्दै गयो ।
साने हल्का मातेको प्रस्टै हुन्थ्यो । ‘दाजु तपाईं नि हान्ने ? चढ्नु मेरो बाइकमा’ उसले अझै भन्यो, ‘भरे राति मात्र आउनुपर्छ आज ।’ धेरै दिन भएकोथ्यो मैले पनि नपिएको । उसको कुरोले म पनि हौसिएँ ।
‘पैसा छ के ?’ मैले सोधें । ‘छ छ हिंड्नु न’ भनेपछि म झन् हौसिएँ । चढें बाइकमा उसको पछाडि । सेउपाखा पुग्यौं । ‘यो दाइ फेरि आउनुभएछ । अघिकोले पुगेन ?’ त्यहाँ काम गर्ने भाइले डाइलग पेल्यो । हामी सुनेको नसुन्यै भयौं । सबैभन्दा मुनिको फ्लोरमा बस्ने ठाउँ खास गजबको लागेन । मलाई अलि एकान्त मनपर्छ, पिउनको लागि । ‘भाइ अलि सेप्रेट ठाउँ छैन बस्न ?’ मैले सोधें । ‘छतमा बस्ने हो ? ट्रस्ट छ, मज्जा आउँछ । नजारा पनि गजबको देखिन्छ, त्यहाँ बसेर खानु नि, हुन्छ ?’
मैले चाहेकै त्यस्तै थिएँ । त्यस्तै मिल्यो । ‘लु…लु ठाउँ देखाऊ त भाइ’ भनेपछि उसले तीनतले घरको सबैभन्दा माथिको छतमा पुर्यायो । बस्ने र खाने गजबको व्यवस्था रहेछ त्यहाँ । हामी बस्यौं ।
के पिउने ? मैले सानेको अनुहारतिर हेरेर प्रश्न गरें । मलाई थाहा छ यो दाइको बेस्ट के हो भनेर । यत्तिकैमा होटलको भाइ बीचमा बोल्यो । त्यही लेउ सानेले भाइलाई हेरेर बोल्यो । भाइ गयो ।
म तिम्रो शहर छोडी टाढा जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।
गीत गाउँदै हिंडेको थियो ऊ । हामीमा एकछिन शून्यता छायो । साने अलि मातेजस्तो देखिन्थ्यो । म फ्रेस थिएँ । मलाई यस्तो ठाउँमा बसेर पुराना गीत–गजलहरू सुन्दै शान्त भएर पर–परतिर हेर्दै पिउन बहुत रहर लाग्छ हौ । म विदेश बस्दा हरेक जुमारात जहिल्यै त्यसै गर्थें । लेटनाइटसम्म एक्लै छतमा बसेर चुरोट र रक्सीमा हराउँथें । यसले मलाई जीवनको अप्ठ्यारोहरूसँग लड्न साहस दिन्थ्यो । नेपाल फर्केपछि मात्र यस्तो गर्न अवस्थाले दिएन मलाई ।
भुईंतिर हेरेर बसेको साने झसङ्ग भयो र हो दाजु भन्ने शब्द फर्कायो । हो नि भन्ने उत्तरसँगै भाइले रक्सीको बोतल ल्यायो । सुँगुरको सेकुवा ल्याइपुर्यायो । छेउको पानीको बोतलले बोतलबाटै हात चोख्याएर हामी मासु लुछ्न थाल्यौं । सानेले रक्सी खन्यायो । चियर्स भो । सिग्रेट मगाइयो । धुवाँको कुहिरीमण्डलसँगै हामी गफिरह्यौं ।
बेलुकाको शीतल समय । साँझ झन् सुमधुर भएझैं लाग्यो । रमरम रक्सी लागेपछि सुषुप्त हृदयको कुनो फुटेर आयो । मनमा अनेक कुरा खेल्न थाले ।
रसैको माया बस्यो ख्याल ख्याल गर्दैमा
विरसै भयो हजुर विछोड हुँदामा
मुखबाट व्हिस्पर साउन्ड भएर निस्किएछ । माहोल क्या मीठो, शान्त र मुठीमा हालेर बन्द गरेर राखिरहुँ जस्तो निको भयो । अघिको कुरा निकालें, ‘बिहे चैं किन छिटो गर्नुपर्ने रै’छ साने ?’
‘दाजु जीवनमा जीवनभरि दुःख छ राइट ? अनि बिहे गरेर दुःख हुन्छ भनेर मलाई किन ढाँटेर राखे बाउआमाले ? मलाई किन मैले जीवनमा पहिलोपटक मन पराएकी केटी… मेरो फस्ट लभलाई बिहे गर्न दिएनन् ? मैले चार वर्षअघि ३२ वर्षको उमेरमा बिहे गरें । अहिले हाम्रो सन्तान दुई वर्षको छ ।
ऊ बोलिरह्यो योपटक, हेर्नुहोस् है ! सुन्नुहोस् मेरो कुरा राम्रोसँग म मातेको छुइनँ । मातेकै भए पनि यो कुरा सुन्नुहोस् । हेर्नु त रमेशेको, फस्टलभ बिहे गर्यो, २१ वर्षकै उमेरमा, सँगै काम गरे । दुःख गरे, परिश्रम गरे । छोरो अहिले ११ मा पढ्दैछ । रमेशे ५० वर्षको हुँदा उसको छोरो उसको आधा उमेरको हुन्छ । छोरी पनि हुन्छे बिहे गर्ने बेलाकी, कसले जित्यो हेर्नु त ?’
घरव्यवहारको कुरा चल्दा म पनि एकछिन सोचमग्न भएँ । सानेले आफ्नो कुरा सकेकै थिएन । ‘अब मेरो हेर्नु, म ३५ वर्षको भएँ । मेरो सन्तान दुई वर्षको छ । म पचास वर्षको हुँदा मेरो सन्तान कत्रो चैं होला ? दुःख कहिले चैं हुन्न रहेछ ? बिहे अघि पनि र बिहे पछि पनि दुःखै हुनेभए मलाई किन सानै उमेरमा बिहे गर्न दिइएन ? मेरो रिटायर्ड लाइफ खै ?
मैले सिग्रेट फुकें । अर्को प्याक रक्सी मेरोमा मात्र हालें । पर हेरें, हेरिरहें । सानेको उत्तर मसँग थिएन । म पनि पीडित नै थिएँ । मनको दर्द कताकता बेस्कन चहर्यायो । नसाको उन्मादमा शायद तत्काल राहत पनि भयो । यतिखेरै मनमा दुई लाइन फुर्यो :
ढिला भयो मेरो समय मेरो पैतालाको
गैसकेछ उम्किएर आजै थाहा पाको ।
यतिसम्म थाहा छ कुरा गरिरहेको । त्यसपछि कुन स्वप्नलोकको सयरमा गइएछ पत्तो भएन । भोलिपल्ट हामीलाई वडाध्यक्ष जमानी बसेर घर ल्याइदिए ।
त्यसपछि आजसम्म त्यसरी पिएको छैन । हामीलाई त वडाध्यक्षले घर ल्याइदिए । सानेको प्रश्नको उत्तरचाहिं कसले भनिदेला !
from समाचार – Online Khabar https://ift.tt/2UY6sO5
0 Comments
if you have any doubts, please let us know.