आफैंसँग वैरभाव, आफैंसँग विप्लव, आफैंसँग प्रतिस्पर्धा, आफैंसँग औंलो ठड्याइ आफैंसँग प्रश्नका तिखा भालाले हर क्षण दुर्दुहाइ— सामान्य कुरो हुँदै होइन ।
जन्मक्रमको तहमा काइँला र परिचयमा वैरागी–यी दुवैलाई एकाकार बनाएर वैरागी काइँलाले आफैंतिर खुल्दुली गराइरहे । वैरागी काइँलाको कविता संसारसँग एक पटक जोडिएर तर्क गर्दा– नाम परै रहने, परिचय वरै नआउने, पहिचानले खुट्टा कमाउने भन्ने लाग्दै–लाग्दैन ।
यो एउटा फरक स्वरको अभ्यास हो । उनी जसरी आजसम्म कविताको एउटा सग्लो आकाशमा छन्, त्यो जितिरहेको चेतनाको आवाज लाग्छ, धुन लाग्छ, संगीत लाग्छ ।
‘मातेको मान्छेको भाषणः मध्यरातको सडकसित’ पढ्नुभन्दा अघिदेखि नै वैरागी काइँला नामसँग एउटा सुमधुर नाता गाँसिएको ठान्छु म । त्यसरी नचिन्दै, नदेख्दै र नभेट्दै भएको साइनो नै सदा आत्मिक, स्मरणीय र प्यारो बन्दो रहेछ ।
कतै टोक्ला चिया कमान, कतै गिरिबन्धु टी–स्टेट, कतै हिमालय टी–गार्डेन फन्को मारिरहँदा हात–हातमा नछुट्ने किताब हुन्थ्यो सामान्य ज्ञानको । ती सामान्य ज्ञानकै कुनै पानामा सोधिएको प्रश्न हुन्थ्यो– ‘आयामेली आन्दोलनका प्रवर्तक को हुन् ?’ दिइएका उत्तरमा चिनो लगाउनुपर्ने हुन्थ्यो– इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरबल्लभ ।
****
२०५१ सालको दशैं लगत्तै ।
दार्जीलिङको चिडियाखानाको पश्चिम पुछारको घर । म होमस्टेको स्वाद लिएर बसेको थिएँ । साना, ठूला वा आफ्ना गच्छे अनुसारका होटल नि नभएका होइनन्— दार्जीलिङमा । खोइ कसरी त्यो घरमा पुगियो बस्नलाई ।
तर राम्रो कुरा के भने— घरपति थिए साहित्यमा औधी समय खर्चिने, चासो लिने साहित्यमा गफिन पाउँदा चियामा झिंगा आएर डुबिसक्दा नि पत्तो नपाउने ।
तिनले लैनसिं बाङ्देल, पारिजात, अम्बर गुरुङ, गोपाल योन्जनका नालीबेली खुबै कहे । तिनले रामकृष्ण शर्मा, पारसमणि प्रधान, शिवकुमार राई, लक्खीदेवी सुन्दासको चर्चा निकै गरे । उनी जस योन्जन प्यासी, वीरेन्द्र सुब्बा, मोहन ठकुरी, कालुसिं रनपहेंली, अगमसिंह गिरीसम्म भट्याइरहेका हुन्थे । तिनैले इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरबल्लभबारे निकै कथा हाले । चिडियाखाना उकालो लाग्ने बेलाको कुइनेटामा ठूलो चर्च थियो ।
वरिपरिका हरिया पहाड । पहाडका तरेलीमा चियाका कलमी भएका बुट्यान । दक्षिण, पश्चिम र उत्तरतिर देखिने हरियै उपत्यका । गाला र कान रन्काउने तीखो चिसो । यी सबै कल्याङमल्याङसँगै थिएँ म ।
चर्च जाने मुखैको ठूलो ढुङ्गोमा टुसुक्क बसेथे जु किपर ।
‘यै कुनामा बसेर राई, काइँला र बल्लभ कविता कत्थे !’
‘दाजुहरूका कविता र घाँटीमा बेरिएको मफलर मज्जाको लाग्थ्यो !’
‘अन्त मैले बुझिन हो । तर मज्जाको के । हो, कुन–कुन ठाउँमा छुन्थ्यो शरीरको । छुन्थ्यो, डल्लै छुन्थ्यो !’
मेरा घरपति जुकिपरले भनेथे । उनका अरू कुरा पनि थिए– ‘यै ढुङ्गामा बसेर पान खान्थे, चुरोट फुक्थे, कवितामा डुब्थे । उभिएरै कविता पनि रिसाइट गर्थे ।’
‘वैरागी अलिक बेजान लाग्थे !’
‘दामी नि दामी— निकै डेन्जर । मेरो ख्यालमा काइँला दाजु त्रिपल डेन्जर !’ जु किपर बोल्दै थिए ।
‘अन्त, हिजोआज जोगी नै भए होलान् है काइँला दाजु ?’
उनको प्रश्नलाई मैले थामथुम पारें— ‘ती प्रचण्ड कवि भएका छन् नेपालमा !’
उनले मुन्टो हल्लाएर सम्मति जनाए— प्रचण्ड कविताको, प्रलय कविको ।
म चौरस्ता जाने बाटो छेउको त्यो ठूलो ढुङ्गो साँझ–बिहान हेर्थें । त्योभित्र एउटा भिन्नै मोह मगमगाएको थियो ।
‘काइँला दाजु त त्यो ढुङ्गामाथि उभिएर कविता नि सुनाउँथे जोड–जोडले !’
जुकिपरले भनेको सुनेपछि त्यो चिसो ढुङ्गामाथि उभिएर, बसेर, टेकिएर अनि ढेसिएर पनि मैले कविताको मर्ममय आनन्दी लिएँ । नभेट्दा वा नदेख्दैको श्रद्धा पनि कवि वैरागी काइँलामा पोखें मैले ।
****
कमला सांकृत्यायनसँग पनि भेटें ।
‘केही कविता पढ्थ्यौं नि ! वैरागी काइँलाले नौला कविताको स्वाद चखाए’ डाक्टर कमलाले भनेको सम्झना छ । लक्खीदेवी सुन्दासको ढोका ढकढक्याउन पुग्दा सातो खाइन् उनले ।
‘दशैं जस्ताको तस्तै छ । यसरी किन दशैं नसक्दै दुःख दिएको ?’
उनको खप्की सुनें मैले ।
सहेर लेखनबारे चर्चा गराएँ । उनले भनेकी थिइन्— ‘तीन पाराका थिए तीन जना । वैरागीसँग अलिक बेग्लो र घुम्ती–घुम्ती खालको रहेछ कविता कला । काव्य र दर्शनसँग लडिरहे नि काइँला । जसले जित्छु भन्छ— त्योसँग नहार्ने साहसले छायाँ बनेर टाँसिइरहन्छ ।’
‘वैरागी त्यस खालकै कलमकार हुन् ।’
यस्तै आशय हुँदो हो । अलिक मौन थिइन्— इन्द्रबहादुर राईबारे । एकै शहर, एकै माटो र एकै क्षितिजको सिरेटोमा थिए उनीहरू । अझ एउटै आँगनको चोसाचोसीमा फुलेका फूलका सुवासितले आलोकित थिए । किन हो कुन्नि मौन लाग्थिन् तिनी राईसँग ।
****
क्याम्पस पढ्दा जम्मै कविता जीवनसँग धेरै खेप जोडियो । चाबहिलको पशुपति बहुमुखी क्याम्पस । त्यसको म विद्यार्थी । वैरागी काइँलाको कविता पढेर बाहिर निस्कँदा– सुनेको प्रवृत्ति, पात्रका रूपमा भेटिइहाल्थे ।
भुषण, श्रीराम, परशुरामहरू भनिहाल्थे— ‘वैरागी लडेछ !’
वैरागी काइँलाको कवित्व शक्तिले यहाँ वातावरणमा आफ्नो उपस्थिति बनाएको छनक पाइन्थ्यो । कवितासँग हुने पाठकको अन्तरङ्ग प्रतिक्रिया यहाँ मज्जाले पोखिएथ्यो— मानिस मात्नुसँगै सबै कुरा मातिसक्यो ।
धेरै खेप यो भावको रूमलाइमा म परेको छु ।
कविताले दिने निर्मम चोटसँग समाज छोइनु भनेको साहित्यको अकाट्य विजय भइदिनु हो । वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’ कवितासँग मान्छे, समाज, समय र सभ्यताको कुइनो अनन्त पटक जुधेको छ । त्यो जुधाइले काव्य ऊर्जा, कविता कला र काव्यिक उत्कर्षतासँगै केही लहर छुटाइरहन्छ ।
कविताले छोएको विषय जनमुखी छ भने त्यसले मनमय बनाउन धेरै समय पर्खिरहनु पर्दैन । कवितासँग कुनै ठूलो आवाज वा चर्को नारा हुँदैमा कविताको सर्वशक्तिमान संसार काँधमा आएर सजिंदैन ।
वैरागी काइँलाको त्यो कवितासँग मानिसको क्षुब्धता र लुब्धतासँगै निष्काम आवाज जसरी पोखिएको छ— त्यो आजको लाचार, छुद्र र पतनोन्मुखी चेतनामाथिको प्रहार हो । यस्ता प्रहार अझ धेरै खेप गरिनु आवश्यक छ । अपरिहार्य पनि त्यत्तिकै ।
०००
किराँत सभ्यताले लिपपोत घसेकै समाजको म एउटा सदस्य । यो समाजकै सेरोफेरोमा मेरो बाल्यकाल हुर्केको हो । हाटबजार, गोठालो, स्कूल, घाँसदाउरा, पौडी, बिजुवा, ढ्याङ्ग्रो जता पनि राई, लिम्बू केटाहरूको बाँधछाँदमा हुर्किएँ ।
हक्की, खरा वा झड्किने तालका केटाहरूसँग संगाती भएरै समयका सिङ उमारिरहें मैले । बोलीले टठिलो भए पनि मनले कलिलो र सधैं सुवासिलो आनीबानी हुन्थ्यो लिम्बू साथीहरूको ।
धुलाबारी जाँदा मानिसहरूले वैरागीभन्दा डबल सुब्बाको बढ्ता नाम लिए । हामी समाज पढ्नेले डबल सुब्बाभन्दा बढ्ता नाम लियौं— वैरागी काइँलाको । किनभने डबल सुब्बाले समाजको समन्वयकारी चरित्र बोकेको थियो– तर वैरागीसँग त्योभन्दा अर्कै, अझ भिन्नै, अझ बेग्लै चरित्र र चेतनाले परिचय जोडेको ठान्थें म ।
कवितासँग अन्तर्मिलन भएको उज्यालो यही होला— कविको नामले एउटा समाज, गाउँ वा बजारले सधैं सम्मान गर्न हतारिएको होस् । धाइजन, नागरडुवा, धुलाबारीसँग एउटा त्यो सुदूर सुख भेट्थें म– ‘मास्तिर बसेका छन् काइँला दाइ ।’
****
वैरागी काइँलासँग राजनीति तर्सेको थिएन । कविताको सबै पुस्ताले केही जिज्ञासा, खुल्दुली वा खसखस पोख्न छोडेन । त्यसो त हरेक सोधनीमा केही राजनीतिको झिल्का नहुने होइन । राजनीति भनेको उग्रगतिको धार हो र जुनै धारले समाज र समयको बराबरी मन छाम्ने प्रयास गरोस्– त्यो नै आजको सामाजिक राजनीति ।
वैरागी काइँलालाई हेर्ने, पढ्ने, बुझ्ने वा स्वीकार्ने आयामिक सोच नै कवितासँगको बृहत् राजनीति हो । यो समाजलाई पढेर वा निफननाफन गरेर केलाइएको शान्त चिन्तन नै कविताले समाहित गरेको राजनीति हो ।
काइँलासँग त्यसको आभा उनका कविताले डोर्याएको राग वा भाव हो भन्ने ठान्छु म । संस्था र गोटा गन्तीले एकातिर कुनै आकारको माने त राख्ला– गुणवत्ताको मूल्यसँग त्यसको कुनै नाता वा साइनो गाढा भएर बस्दैन ।
वैरागी काइँला त्यसका ठूला साक्षी हुन् । बलिया प्रमाण हुन् । थोरै त छन् । त्यो थोरैमा पनि अझ चुनिएर उनका कविता पढिएका छन् । यो चुनाइ र पढाइले पनि एक अलग छाप र प्रभाव पाठकले आजसम्म पाइरहनु आफैंमा विश्वासको संकल्प हो । हरेक लेखक र साधकले त्यही संकल्प खोजिरहेको हुन्छ । सबैले त्यो प्राप्त गरिहाल्न सक्दैनन् । नसक्नुभित्र निष्ठा, समर्पण र लगावले बनाएको आधार हो ।
****
वैरागी काइँलालाई कविताको विधागत घेरामा मात्र हेरिनु अपूर्णता रहेछ । उनको आफ्नै अग्लो र उज्यालो अनुहार अर्को पनि छ– सांस्कृतिक चिन्तन ।
मुन्धुमसँग जोडिएर, गाँसिएर, मिसिएर र भित्रैसम्म पर्गेलेर बोल्ने उनको छवि निकै उज्जर छ– त्यतातिर । लिम्बू जाति र सभ्यताको आधारमा सांस्कृतिक तह उनले राम्रैसँग केलाएका छन् । उनीसँग आफ्नो धर्म, सांस्कृतिक र मौलिकताले बारबेर पारेको चिन्तनको सबैखाले ज्ञान क्षुधा छ ।
त्यही ज्ञान क्षुधाले नापी–नापी कोरेको सांस्कृतिक, धार्मिक र आध्यात्मिक चरित्रलाई वैरागीले फेरि खोतलेर लिपिबद्ध पारेका छन् । हुनु र नहुनुभन्दा पनि थाहा हुनु र नपाउनुमा एउटा बलियो र गतिको अन्तर हुन्छ । यही अन्तरसँग नजिकिएर वैरागी काइँलाको चेतले लिम्बू संस्कृतिबारे बहस गरेको हुनुपर्छ ।
हरेक जातिका वैशिष्ट्य जातीय, सांस्कृतिक सम्पदाले अँगालेको हुन्छ, त्यो वैशिष्ट्य नै त्यो जातिका लागि जीवनभरि समुदायलाई डोर्याउने एउटा बलियो राजमार्ग हो ।
बाटोमा देखिने जन्म, मृत्यु, विवाह लगायत सबै कर्मसँग घुलमिल भएर गरिने स्थितिको अर्को चरित्र हो– धार्मिक चालचलन । कतै संस्कृति, कतै परम्परा, कतै अनिवार्यता, कतै सुधारात्मक पद्धतिको व्यावहारिक कार्यसँगै मानवीय अभिप्रायः मुखरित भइरहेको हुन्छ । धर्मसँग गाँसिएको समुदाय आदि कथा, आदि चरित्र र आदि सक्रियता आफैंमा अध्ययन र मीमांसाको पक्ष हो ।
वैरागी काइँलाबाट त्यसको गति र लयसँग आएको परिवर्तित पक्षको विवेचना हुनु आवश्यक थियो । उनको सांस्कृतिक चिन्तनले पूर्वी नेपालको किराँत समाजसँग प्रत्यक्ष नसनाता गाँसिएको जनजीवन बुझ्न, थाहा पाउन र मनन गर्न गतिको आधार प्राप्त हुने कुरामा विमति छैन ।
वैरागी काइँलासँग रहेको कविताको मसिनो आँखा यो फाँटका लागि अर्को बलशाली चिन्तन हो । संस्कृति पनि कविताको ठूलो भुइँ हो, आकाश हो ।
फाट्टफुट्ट भेट वा गफगाफसँग सम्झनाको पाना बलियो नहुने रै’छ । त्यो त एउटा औपचारिकताको फड्को वा झिल्कोभन्दा अलग होइन कत्ति पनि ।
२०६१ सालको मध्य साउन । लगातार पानी पर्यो । म एउटा अखबारमा स्तम्भ लेख्थें– कला, साहित्यका कुरा जोडेर ।
‘घरमै आउनु न । यतै सबै कुरा पोख्न सजिलो ।’
वैरागी दाइले भनेपछि म सुकेधारा झरेर बिहानै पुगेथें उनकै घरमा ।
त्यो भेटमा लामै कुरा भए हाम्रा । मेरा खसाखसमा उनका कुरा सबै आएथे । उनले आफ्नो कविता, संस्कृति यात्राका धेरै–धेरै प्रसंग बताएथे ।
सारताप पौवादेखि दार्जीलिङसम्म, धुलाबारीदेखि काठमाडौंसम्म, प्रतिबन्धित नेपाली कांग्रेसदेखि छयालीस सालको परिवर्तनसम्म, प्रज्ञा प्रतिष्ठानका सदस्यदेखि कुलपतिसम्मका बग्रेल्ती सम्झना शृंखलाका कुराहरू भए ।
उनका साथी–संगातिका चर्चा भए । उनका प्रतिस्पर्धा, पुरस्कारका कुरा भए । उनका कविताका स्वीकृत र अस्वीकृत तथ्यबारे मन्थन भए । धेरै समय त मुन्धुमका कुरामा हामी हेलियौं ।
‘संस्कृतिकै पेरुङ्गोभित्र त हाम्रा कविता, कथा र निबन्धका फुल हुँदा रै’छन् । कुनै ठूला फुल, कुनै त साना–साना । साना जति आफ्नो बलले फुत्त–फुत्त बाहिरिइहाल्दा रैछन् । ठूला फुलहरू पेरुङ्गोभित्रै ओथारिएरै जन्मिन पुग्दा रहेछन्– जीवको आकारमा ।’
‘सिर्जना त्यस्तै त हो नि । कोही कस्ता, कोही कत्रा ।’
वैरागीको यो चिन्तन त्यै बेला सुनेथें । उनी घरी–घरी श्रवणयन्त्र लाउँथे कानमा । घरी फुकाल्थे, घरी कोच्दै मेरा प्रश्न र जिज्ञासा पनि सुन्थे ।
झन्डै तीन घण्टा म बसेथें– सुकेधाराको सुकिलो, उज्यालो र घुमाउने घरमा । पर्दा लाउँदै, खोल्दै उनी बाहिर दर्किरहेको पानी पनि हेरिरहन्थे । त्यो बेला उनका कविता जस्ता वाक्य सुनेर म पग्लिरहन्थें ।
‘प्रजातन्त्र त आयो देशमा । मान्छेको मनले प्रजातन्त्रको असली अनुभव गरेको दिन मात्र परिवर्तनको घाम उदाएको प्रमाणित हुन्छ नि नयाँघरेजी !’
काइँला दाइको वैराग्य थिएन यो भनाइमा । कविताभन्दा एउटा सचेत नागरिकको उकुसमुकुस सुनेर हिंडेको थिएँ म ।
from समाचार – Online Khabar https://ift.tt/3jCnYSv
0 Comments
if you have any doubts, please let us know.