सुदूरपश्चिममा संक्रमण र मृत्युदर घट्यो, चिकित्सक भन्छन्- व्यवस्थित रुपले निषेधाज्ञा खोल्न सकिन्छ

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । अब एकअर्का जिल्लाबीच भौतिक रुपले सम्पर्क नहुने गरी व्यवस्थिति तरिकाले निषेधाज्ञा खोल्दै जान सकिने चिकित्सकहरुको राय छ ।

वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीसहित प्रदेशका विभिन्न प्रयोगशालामार्फत यो एक हप्ताको अवधिमा १३ हजार २२२ जनाको परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा ११३ जनाको मृत्यु भएको थियो ।

जेठ १७ गतेसम्म आइपुग्दा संक्रमण दर झण्डै २३ प्रतिशत र मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम ३ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसलाई हेर्दा परीक्षण गरिएकामध्ये २२ प्रतिशत संक्रमण देखिएको पाइन्छ । यस्तै ३३ जनाको मात्रै मृत्यु भएको छ ।

यो साता एकै दिन सबैभन्दा कम ३ जनाको मृत्यु र २९५ जनामा संक्रमण पुष्टि भएको छ । २.२४ प्रतिशत पुगेको मृत्युदर घटेर ०.०९ प्रतिशतमा झरेको छ ।

जेठ ११ गतेदेखि प्रदेशमा संक्रमण कम हुँदै गएको देखिन्छ । ११ जेठमा २ हजार २५२ जनाको परीक्षण गर्दा ६१९ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको तथ्यांक छ । यस्तै १२ जेठमा सबैभन्दा धेरै ३ हजार ८२२ जनाको परीक्षण गर्दा ४३७ जना संक्रमण देखिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । यो साता संक्रमणदर झण्डै आधा र मृत्युदर चार गुणाले कम भएको तथ्यांकमा देखिन्छ ।

वैशाख २० देखि २७ गतेसम्म आईर्सीयूमा २७७ र भेन्टिलेटरमा ९३ जनाको उपचार गरिएकोमा पछिल्लो ७ जना आईसीयू ३३८ र भेन्टिलेटरमा ७८ जना उपचाररत थिए । अहिले त्यो भन्दा पनि घटेर आईसीयूमा ४७ र भेन्टिलेटरमा १० जनाको मात्र उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘निषेधाज्ञाको परिणाम देखियो, अब व्यवस्थित रुपमा खोलौं’

कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेका थिए । पटक पटक गरेर निषेधाज्ञा लम्ब्याएकै कारण अहिले संक्रमण घटेको चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमण कम हुनुको प्रमुख कारण निषेधाज्ञा नै भएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजनदत्त शर्मा पौडेल बताउँछन् । ‘मलाई स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको रिजल्ट अहिले देखिएको जस्तो लाग्छ । मानिसहरुको आवतजावत भएन, एकै ठाउँमा बस्नुपर्यो,’ डा. पौडेलले भने, ‘यसले दुई वटा कुरामा सहयोग पुग्यो, पहिलो मानिस बसेको ठाउँमा के कति केसहरु छन् भनेर पहिचान गर्न सजिलो भयो । दोस्रो आवतजावत नै नभएपछि संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिन पाएन ।’

तर संक्रमण कम हुँदैमा जोखिम घटेको र अगामी दिनमा नफैलिने भन्ने कुरामा ढुक्क हुुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘अब अगामी दिनहरु कस्ता हुन्छन् भन्ने कुरा अहिले भन्न त सकिंदैन । त्यो गाह्रो नै छ,’ उनले भने, ‘तर यदि अहिले जारी निषेधाज्ञा खोल्ने नै हो भने व्यवस्थित र वैज्ञानिक रुपले खोल्नुपर्छ । तत्कालै एकअर्का जिल्लाबीच सम्पर्क नगराउने र आन्तरिक रुपमा खोल्न सके राम्रो हुन्छ ।’



from समाचार – Online Khabar https://ift.tt/2SRQxjh

Post a Comment

0 Comments