मन्त्री कृष्णगोपाल श्रेष्ठले भने– गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ

१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् ।
आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ असारमा रिहा गरेको थियो । मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेर प्रधानलाई झण्डावाल गाडीमा राखेर लगेका थिए ।

यो पनि पढ्नुहोस जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

यसबाट मन्त्री श्रेष्ठको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए । आयोगले मन्त्री श्रेष्ठलाई मंगलबार  कार्यालयमा बोलाएर यसबारे सोधपुछ गरेको थियो ।

काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेको आरोप लागेपछि ६ असारमा प्रहरीले पक्राउ गरेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3x7jhUF

Post a Comment

0 Comments