आठ सचिव पद रिक्त, एकजना बढुवा सिफारिश

१५ असार, काठमाडौं । सरकार विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा आठ सचिव पद रिक्त छन् । सचिव बढुवा सिफारिश समितिले भने एक जनालाई बढुवा सिफारिश गरेको छ । मंगलबार वन, कृषि र इन्जिनियरिङ सेवातर्फ बढुवा सिफारिश हुँदैछ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिले वरिष्ठ सहसचिव दामोदर रेग्मीलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो । आगामी मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेपछि रेग्मी सचिव बन्ने छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् ।

राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा सचिव पद रिक्त छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि एक सचिव पद रिक्त छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पनि सचिव विहीन छन् ।

गण्डकी र कर्णाली प्रदेश सरकार पनि प्रमुख सचिवविहीन छन् । गण्डकी प्रदेशमा चैत २ देखि प्रमुख सचिव पद रिक्त छ । विष्णुप्रसाद नेपालले अवकास पाएपछि हाल रामचन्द्र ढकालले निमित्त भएर काम गर्दै आएका छन् ।

कर्णाली प्रदेश सरकारका तत्कालीन प्रमुख सचिव चन्द्रमान श्रेष्ठले जेठ १५ देखि अवकास पाएपछि अर्को सचिव नियुक्त भएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ ।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे यही असार १७ गतेदेखि रिटायर्ड हुँदैछन् ।

यसैबीच लोक सेवा आयोगका पदाधिकारीहरुले यही असार ९ गतेदेखि कार्यभार सम्हालेलगत्तै सचिव बढुवा सिफारिशको प्रक्रिया सुरु भएको छ ।

बरिष्ठताको आधारमा दामोदर रेग्मीलाई सहसचिवबाट सचिवमा बढुवा गर्न सिफारिश भइसकेको छ । ‘निजामती सेवा ऐनअनुसार कूल पदको २० प्रतिशत ज्येष्ठताको आधारमा बढुवा गर्ने प्रावधानअनुसार रेग्मीलाई बढुवा सिफारिश गरिसकेका छौं,’ लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘हिजो हामीले इन्जिनियरिङ सेवाका दुईवटा पदमध्ये एउटा पद ओपन गरेर विवरण संकलन गरिसक्यौं । वन कृषिको एउटा रिक्त सचिवको पनि विवरण संकलन गरिसक्यौं । आज प्रशासन सेवाको अर्को पदका लागि विवरण संकलन गर्छौं ।’

वन कृषि सेवा र इन्जिनियरिङ सेवाको आजै बेलुका बढुवा सिफारिश गर्ने जानकारी दिँदै रेग्मीले भने, ‘हामीले एक दिन पनि ढिलो नगरीकन पदपूर्ति गराउँछौं ।’

हाल सचिवमा बढुवाको निकट रहेका सहसचिवहरुमा गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे लगायत छन् ।



from समाचार – Online Khabar https://ift.tt/3h2yXCX

Post a Comment

0 Comments