तामाकोशी प्रसारण लाइनको काम गर्दा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुने

१२ असार, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ।

तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।

खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

‘यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनेछ’ प्रवक्ता न्यौपानेले भने, ‘यसबाट काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।’ बिजुली कति समयसम्म प्रभावित हुन्छ भनेर यकिनका साथ भन्न नसकिने उनले बताए ।

यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3qvxacS

Post a Comment

0 Comments