राष्ट्रियसभा उपनिर्वाचन : नेपालगञ्जका मेयरद्वारा मतदान बहिस्कार

१७ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन् ।

उनले सामाजिक सन्जालमार्फत् यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो । तर गृहमन्त्री थापा एमाले माधव नेपाल पक्षसमेत आबद्ध विपक्षी गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव गरिएको छ ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पालिका प्रमुख र उपप्रमुख मतदाता छन् । भोट खसाल्न प्रदेशसभा सदस्य, पालिकाका प्रमुख-उप्रमुख र कोरोना संक्रमित जनप्रतिनिधिहरुका लागि अलग-अलग स्थान निर्धारण गरिएको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।



from समाचार – Online Khabar https://ift.tt/3vARqLS

Post a Comment

0 Comments