२८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो तीन दिनको मृत्युको संख्याले देखाउँछ । आइतबार ८८, सोमबार १३९ जनाको मृत्यु हुँदा मंगलबार मृतक संख्या २२५ पुग्यो । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने कतिपय अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरेका छन् ।
त्यसैले कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । तर महामारी यो अवस्थामा त्यत्तिकै पुगेको भने होइन ।
१० दिनअघि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु हुँदैमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेका थिए । ७ दिनअघि ५३ जना संक्रमितको मृत्यु हुँदा अस्पतालहरुमा अक्सिजनको अभाव चर्किसकेको थियो । अस्पतालमा बेड र अक्सिजन अभावको परिणामस्वरुप मृतक संख्या तीब्र रुपमा बढेको हो ।
कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालका अधिकारीहरुको भनाइले पनि यो कुराको पुष्टि गर्छ । पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. विमल पाण्डे पछिल्लो समय आईसीयूमा राख्नुपर्ने बिरामीले अस्पतालमा बेड नै नपाउने र भर्ना भएका बिरामीले आवश्यक मात्रामा अक्सिजन नपाउँदा मृत्यु संख्या बढेको बताउँछन् । ‘मृत्यु बढ्नुको मुख्य कारण अक्सिजन र बेडको अभाव नै हो, संक्रमितको अवस्था हेर्दा अबको केही साता मृत्युको संख्या झन् बढ्न सक्छ’ उनी भन्छन् ।
उपचारमा संलग्न चिकित्सकहरु संक्रमितले समयमा उपचार पाउन नसकेको बताउँछन् । कतिपय बिरामी आफ्नो समस्या पहिचान गर्न नसक्दा ढिलो अस्पताल पुगिरहेका छन् भने कतिपय बिरामीले भने अस्पताल चहार्दाचहार्दै समयमा उपचार पाउन सकेका छैनन् ।
टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला अस्पताल आइपुग्ने अधिकांश संक्रमितको फोक्सो बिग्रिसकेको हुने बताउँछन् । उनका अनुसार सिकिस्त अवस्थामा अस्पताल आएकालाई उपचारले बचाउन कठिन हुन्छ । ‘सुरुवातमै संक्रमितले सही सल्लाह लिएर औषधि नखाएका कारण अस्पताल आइपुग्दा धेरै ढिलो भइसक्छ, त्यसमाथि अस्पतालमा बेड खोज्दाखोज्दै समस्या जटिल भइसक्छ’ डा. बास्तोला भन्छन् ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि जटिल अवस्थाका बिरामीले समयमा उपचार पाउन नसक्दा मृत्यु बढेको बताउँछन् । ‘अक्सिजन अभावले अझ यो भन्दा ठूलो ‘डिजास्टर’ हुन सक्छ, किनकी यति धेरै सिकिस्त बिरामी आउँछन् कि अक्सिजन दिंदादिंदै पनि बचाउन सकिदैन’ उनी भन्छन् ।
बाँकेमा गएको २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये भेरी अस्पतालमा मात्रै ६ जनाको मृत्यु भएको थियो । सामान्य नागरिक अस्पतालको पहुँचमा पुग्न नसकेकाले मृत्यु बढेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे बताउँछन् ।
सरकारी अस्पतालमा क्षमता भन्दा बढी बिरामी भइसकेको र निजी अस्पताल सर्वसाधारणको पहुँचमा नभएका कारण पनि मृत्यु बढेको उनको भनाइ छ । यस्तो अवस्थामा अस्पताल पुगेका संक्रमितले समेत राम्रो उपचार पाउन सकेका छैनन् । ‘संक्रमितलाई अक्सिजनसमेत खटाइ खटाइकन दिनुपर्छ, अन्य मेडिसिन भन्नासाथ पाउने अवस्था छैन’ डा. पाण्डे भन्छन्, ‘त्यसमाथि २ जना नर्सले ५०/६० जना संक्रमितलाई हेर्नुपर्ने बाध्यता छ ।’
भेरी अस्पतालमा आईसीयू बेड कुर्दाकुर्दै दैनिक २ देखि ४ जना संक्रमितको मृत्यु हुने गरेको उनको भनाइ छ । सरकारी अस्पतालमा जनशक्ति पनि कम भएकाले उपचार प्रभावकारी हुन सकेको छैन । ‘यो बेला राज्यले निजी र सरकारी दुबै स्थ्य संस्थाको स्रोत, साधन र जनशक्ति मैदानमा खटाउन सक्नुपर्ने हो तर नसकेकाले अवस्था झन् झन् बिग्रदो छ’ डा. पाण्डे भन्छन् ।
महामारी भयावह अवस्थामा पुगेका बेला देशभर अक्सिजन अभाव चर्केको छ । त्यसैले धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने बताएका छन् भने कतिपय अस्पतालले बिरामी पक्षलाई नै अक्सिजन जोहो गर्न लगाएका छन् ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठक मृत्यु बढ्नुमा अक्सिजन अभाव नै मुख्य कारण रहेको बताउँछन् । ‘अस्पतालको आँगनमा आएका बिरामीलाई अक्सिजन नभएर फर्काउनुपरेको छ, उनीहरु अर्को अस्पतालमा जाँदा बाटोमै मृत्यु भएको सुनिन्छ’ पाठक सुनाउँछन् ।
ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मा हाइफ्लो अक्सिजन चाहिने बिरामीबाहेक अरुलाई भर्ना गर्ने अवस्था नभएको बताउँछन् । ‘जति धेरै जटिल बिरामी अस्पालमा हुन्छन्, मृत्युको संख्या त्यति नै बढ्छ’ उनी भन्छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८९ हजार ९ सय १४ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा धेरै संक्रमित हुनु पनि मृत्यु संख्या बढ्नुको कारण बनेको जनस्वास्थ्यविद डा. शरद वन्त बताउँछन् । ‘होम आइसोलेसनमा भएकाहरुले ख्याल गर्दा गर्दैपनि सिकिस्त भएको खण्डमा अति आवश्यक सेवा नपाएर अकालमै ज्यान गुमाएका छन्’ डा. वन्त भन्छन् ।
भेरी अस्पतालका डा. पाण्डे स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक भन्दा मृतक संख्या बढी रहेको बताउँछन् । उनका अनुसार धेरै गाउँमा भाइरल ज्वरोको कारणले मृत्यु भइरहेको छ, तर त्यहाँ मृत्यु हुनेहरुको परीक्षण भएको छैन । ‘अहिले सार्वजानिक भएको मृत्यु अस्पतालमा भएकाहरुको मात्र हो, त्यति नै मृत्यु गाउँ गाउँमा भइरहेको छ’ डा. पाण्डे भन्छन् ।
उपचारमा मात्र भर पर्ने स्थिति आयो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल कोरोना संक्रमणअघि अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा मृत्यु बढेको बताउँछन् । ‘महामारी नियन्त्रणको अन्य विधि नअपनाइकन हामीले उपचारात्मक सेवामा मात्र भर पर्यौं, सोही कारण स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेर यो अवस्था आयो’ सचिव अर्याल भन्छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार अहिलेको देखिएको संक्रमितको संख्या स्वास्थ्य प्रणालीको क्षमता भन्दा चार गुणा बढी भएको बताउँछन् । ‘अक्सिजन र बेडको यसरी हाहाकार भइसक्यो कि हामी होपलेस भइसक्यौँ’ डा. अधिकारी भन्छन् ।
कोभिड अस्पतालको अनुगमन गरेका स्वास्थ्य मन्त्रालयका एक अधिकारी ह्वात्तै संक्रमितको मृत्यु बढ्नुको ५ वटा कारण रहेको बताउँछन् । उनका अनुसार अक्सिजनको अभाव, सिकिस्त बिरामीले समेत बेड नपाउने अवस्था र भर्ना भएका संक्रमितले पर्याप्त उपचार नपाउनु नै मृत्यु बढ्नुको मुख्य कारण हो । त्यसैगरी राज्य संयन्त्र कोरोना रोकथाम भन्दा पनि उपचारात्मक सेवामा भर परेकाले पनि मृत्यु बढेको उनको भनाइ छ ।
दोस्रो लहरको महामारीको सुरुवातमै राज्यका सबै निकायबीच कोरोना रोकथाममा समन्वय हुन नसक्दा भयावह अवस्था आएको ती अधिकारी बताउँछन् । एक महिना अघिदेखिको कमजोरीका कारण अहिले मृत्यु संख्या बढेको हो । ‘हामीले २ महिनादेखि यो अवस्था आउँछ भनेर चेतावनी दिंदा अन्य निकायले हामीसँग समन्वय गरेनन् । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार सबै निकायले गम्भीर भएर काम गरेको भए हामी आज यो अवस्थामा हुँदैनथ्यौं’ उनी भन्छन् ।
यो पनि पढ्नुहोस अक्सिजन अभावले धेरै अस्पतालमा ‘डिजास्टर’ हुन सक्छfrom समाचार – Online Khabar https://ift.tt/3xWClpk
0 Comments
if you have any doubts, please let us know.