२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा आज सकिँदै छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको हो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी छ ।
ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए ।
नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच छलफल तीव्र हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् । त्यसैले ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना पनि देखिएको छैन ।
ओलीले सरकार र पार्टीमा एकलौटी गरेको तथा विधिसम्मत ढंगले नचलेको आरोप लगाउँदै माधव–झलनाथ पक्ष उनीविरुद्ध आन्दोलनमै उत्रिएको थियो । ओलीले भने विपक्षी दलहरुसँग गठजोड गरेर माधव–झलनाथ पक्षले पार्टीमा फुट ल्याएको आरोप लगाउँदै आएका छन् ।
from समाचार – Online Khabar https://ift.tt/2Q56hi7
0 Comments
if you have any doubts, please let us know.