नारायणकलीको छावाको नाम राखियो ‘शेषचन्द्र गज’

१ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकलीले जन्माएको छावाको न्वारन गरेर ‘शेषचन्द्र गज’ नाम राखिएको छ ।

गत वैशाख २० गते नारायणकलीले जन्माएको छावाको ११ औं दिनमा शुक्रवार न्वारन गरिएको थियो ।

२०७१ असोजमा तस्करहरूको समूहले गोली हानेर हत्या गरेका चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ गेमस्काउट शेषचन्द्र चौधरीको स्मृतिमा हातीको छावाको नाम ‘शेषचन्द्र गज’ राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

गैंडा तस्करहरुलाई पक्राउ तथा नियन्त्रणमा लिन अब्बल कर्मचारी रहेका मानिने चौधरीको स्मृतिमा माडी–ठोरी सडकमा चौतारी र प्रतिक्षालय पनि चालु आर्थिक वर्षमा बनाउने बरालले बताए ।

प्रजनन् केन्द्रमा रहेका सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ छन् । प्रजनन् केन्द्रमा चालु आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो । सुत्केरी हात्तीको स्याहारका लागि तीनजना कर्मचारी खटाइएको छ ।

नारायणीकली हात्ती निकुञ्जकै बगई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएको कारण कामकाज फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहारसुसार गरिएको थियो ।

नारायणीकलीले यसअघि जन्म दिएका दुई छावाको नाम ‘माडी गज’ र ‘लक्की गज’ राखिएको छ । ‘माडी गज’ र ‘लक्की गज’ गैंडा गणनामासमेत सहभागी थिए ।

खोरसोरमा नवजात ‘शेषचन्द्र गज’सँगै १० वटा छावा पुगेका छन् । साथै निकुञ्जमा चितवनका ५१ वटा र ६ कोशी टप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका गरी जम्मा ५७ वटा हात्ती पुगेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3ojbX4G

Post a Comment

0 Comments