निजामति प्रशासन परिणामभन्दा प्रक्रियामा केन्द्रित : उपप्रधानमन्त्री पोखरेल

२५ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताए ।

समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको उनको भनाइ छ । पोखरेलले निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको टिप्पणी गरे ।

‘अहिले निजामति प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्ने गरिएपनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामति प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।



from समाचार – Online Khabar https://ift.tt/2PysxRh

Post a Comment

0 Comments