संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

१८ वैशाख, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ ।

उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।

ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याइएको थियो ।

तर, पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो । पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’ पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीले भने ।

उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायी समेत रहेको नेता भण्डारी बताउँछन् ।



from समाचार – Online Khabar https://ift.tt/3ucTnxo

Post a Comment

0 Comments